अहिले बलीउडका चर्चित कलाकार एवं कमेडियन राजपाल यादव नेपालमा छन् । आजभन्दा एक दशक अगाडी निर्माण भएको सुपरहिट नेपाली चलचित्र ‘करोडपति’ को छायाँकनका लागि उनी नेपाल आएका हुन । झण्डै २ हप्तासम्म नेपालमा रहने राजपाल यादवलाई चलचित्र ‘करोडपति’ मा नेपाली बाबु बनेको देख्न पाइनेछ । चलचित्रका नायक तथा निर्माता आर्यन अधिकारीले केही दिन अगाडी आफ्नो फेसबुकमा एक तश्वीर अपलोड गर्दै राजपाल यादवको ‘करोडपति’ लुक्स सार्वजनिक गरेका थिए । तश्वीरमा राजपाल यादवले दौरासुरुवालमाथी ज्वारी कोट र शिरमा भादगाउँले टोपी लगाएका छन् । यो चलचित्रमा राजपाल यादवले नेपाली भाषामा नै आफ्नो संवाद भन्नेछन् ।
तपाईहरुलाई बताइदिउँ कि राजपाल यादवले यसअघि पनि नेपाली ढाकाटोपी आफ्नो शिरमा लगाएर एक बलीउड चलचित्रमा काम गरिसकेका छन् । सन् २००४ मा निर्माण भएको बलीउड चलचित्र ‘लभ इन नेपाल’ मा राजपाल यादवले एक नेपाली टूरिस्ट गाइडको भूमिका निवार्ह गरेका थिए, जहाँ उनले प्रत्येक सिनमा ढाकाटोपी लगाएका छन् । रजत मुखर्जीले निर्देशन गरेको यो चलचित्रमा भारतका चर्चित गायक सोनू निगम लीड कलाकार थिए । यो चलचित्रको पूरा छायाँकन नै नेपालमा भएको थियो ।