सानो नेपाली बजारमा प्रत्येक बर्ष २ सय भन्दा बढी सिनेमाहरु प्रदर्शन हुन्छन् र त्यही अनुपातमा निर्माण पनि हुन्छन् । ३० लाख देखी १ करोडसम्मको लागतमा नेपाली चलचित्रहरु पछिल्लो समय निर्माण भइरहेका छन् । चलचित्र बनाउनु आफैमा एउटा चुनौती हो तर कोहीँ-कोहीँ निर्माताहरु सिनेमा निर्माणको घोषणा गरेर कता हराउँछन् पत्तै हुँदैन । त्यस्तै भएको छ केही बर्ष अगाडी पाँच तारे होटलमा घोषणा गरिएको चलचित्र ‘न्यू ईयर’ पनि । अहिलेसम्म यो चलचित्रको छायाँकनसम्म सुरु भएको छैन । निर्माण घोषणा कार्यक्रम निकै धुम-धमाकाको साथ गरेपनि आन्तरिक द्धन्द्धका कारण अहिले यो चलचित्र त्यसै थन्किएर बसेको छ । नायिका बेनिशा हमाल र नायक अनुप विक्रम शाहीलाई मुख्य भुमिकामा राख्दै मोक्ष चलचित्र निर्देशक प्रविण श्रेष्ठले यो चलचित्र निर्देशन गर्ने बताइएको थियो ।
यो चलचित्रको वर्कशप पनि सुरु भएको थियो पोखरामा तर त्यसपछि निर्माताहरु बिच नै जुहारी चल्न थालेपछि चलचित्रको छायाँकन सुरु हुन नसकेको स्रोत बताउँछ । २०७१ सालमै छायांकन सुरु गर्ने घोषणा गरेको निर्माण पक्षले हालसम्म छायाँकन आरम्भ गरेको छैन । चलचित्रमा गृहेन्द्र घिमिरेको साथमा अष्ट्रेलियामा रहँदै आएका प्रताप खरेल र कर्णराज वंशीको लगानी रहने कुरा थियो तर अहिलेसम्म चलचित्रको छायांकन सुरु नहुनुले निर्माताबीचको सम्बन्ध बिग्रिएको शंका उब्जन थालेको छ । चलचित्रको निर्माण घोषणा कार्यक्रममा गृहेन्द्र घिमिरेले चलचित्रको छायाँकन अष्ट्रेलिया र नेपालमा हुनेसम्म बताउन भ्याएका थिए । २०७१ मा भव्य कार्यक्रमका बिच घोषणा गरिएको चलचित्र न्यू ईयर के कारणले रोकिएको हो त्यो भने हालसम्म निर्माणपक्षले बताएको छैन तर अब निर्माणपक्षलाई दर्शकहरुले के विश्वास गर्ने ? त्यसको जबाफ निर्माणपक्षले खोज्न आबश्यक छ । हुनत, यो चलचित्र मात्र होइन नेपालमा यस्ता धेरै चलचित्रको निर्माण घोषणा गरेर त्यसै थन्किएर पनि बसेका छन् । मिडियामा केही दिन भएपनि छाउनका लागि केही निर्माताहरु चलचित्र निर्माणको घोषणा गरेर रंगीन दुनियाँमा आफ्नो प्रभाव जमाउन तल्लिन देखिने गर्छन ।