बैशाख १ गतेबाट हलमा लाग्ने तयारीमा रहेको चलचित्र ‘लभ लभ लभ’ का दुई मुख्य कलाकार सुरज पाण्डे र स्वस्तिमा खड्का गएको बर्ष रिलिज भएको अनमोल केसी स्टारर चलचित्र ड्रिम्स हेर्न हल पुगेका छन् । ‘ड्रिम्स’ मा समाबेश लभ सङ ‘म के भनुँ…’ मा अनमोल केसी र साम्राज्ञी राज्यलक्ष्मी शाह फिचरिङ छिन् । यो गीत जब हलमा गुञ्जन थाल्छ तब छेवैमा रहेकी सुरजकी प्रेमीका अर्थात स्वस्तिमा खड्का रमाउन थाल्छिन् र सुरज स्वस्तिमाको साथ आफ्नै ड्रिम्स सिक्वेन्समा पुग्छन्, रसुवाको गोसाइँकुण्ड । अनि सुरज स्वस्तिमालाई भन्दैछन्, ‘हिजो आज तिम्रो बारेमा किन सोचिरहन्छु ?’
यो दृश्य हेर्न पाइन्छ हालै सार्वजनिक भएको चलचित्र ‘लभ लभ लभ’ मा समाबेश हिजो आज बोलको गीतमा । चार हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा यो ५ मिनेट ३९ सेकेण्डको भिडियो खिच्न मात्र नौ दिन लागेको थियो भने झन्डै १२ लाख खर्च भयो थियो । सार्वजनिक गीतमा देखिएको दृश्य यसअघि नेपालका अन्य कुनै पनि चलचित्रमा कैद गरिएको छैन ।
यो गीतमा कोशिश क्षेत्रीको स्वर, सुरेश राइको शब्द तथा संगीत छ । यो गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन भने निरज कँडेलले खिचेका हुन ।
अमृत पाण्डे र शर्मिला पाण्डेको लगानीमा ‘लभ लभ लभ’ तयार भएको हो । चलचित्रका सबै गीतमा सुरेश राईको संगीत रहेको छ भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ । दीपेन्द्र के. खनाल निर्देशित यो चलचित्रमा स्वस्तिमा र सुरजका अलवा देशभक्त खनाल, रमेश बुढाथोकी, रुपा राना लगायतका कलाकारहरु छन् ।