निखिल उप्रेतीको यस बर्षका लागि दोस्रो रिलिज बनेको चलचित्र ‘निर्भय’ गएको शुक्रबारबाट देशव्यापी प्रदर्शन भइरहेको छ । एक्सन नायकको रुपमा परिचित निखिल अभिनित चलचित्र ‘निर्भय’ ले गएको शुक्रबारबाट अधिकांश सिंगल हलहरु भने पूरै कब्जा गरेको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार खासै उत्साहजनक व्यापार गर्न नसकेपनि दोस्रो दिन शनिबार भने ‘निर्भय’ ले दर्शकहरुको राम्रो साथ पाएको छ । त्यस्तै, आइतबार चलचित्रको विजनेश औसत छ भने आज सोमबार सार्वजनिक विदा भएका कारण ‘निर्भय’ ले उपत्यका बाहिर र राजधानी भित्रका सिंगल हलहरुमा दर्शकहरुको राम्रो साथ पाएको चलचित्रका निर्देशक मधुसुदन भट्टराईले जानकारी दिएका छन् । खबरका अनुसार, चलचित्रको तीन दिने विजनेश सुखद छ । आज सोमबार कति विजनेश गर्छ त्यसैमा भर पर्छ कि चलचित्र ‘निर्भय’ ले आफ्नो लगानी उठाउन सक्छ वा सक्दैन । चलचित्र ‘निर्भय’ हेरेका दर्शकहरुले भने निखिल र नीताको खुलेरै तारिफ गरेका छन् ।
यो चलचित्रलाई देवी प्रसाद पाण्डेले निर्माण गरेका हुन । चलचित्र ‘निर्भय’ मा नायक निखिल उप्रेतीले खतरनाक रियल स्टन्डका दृश्यहरु दिएका छन् । चलचित्रमा निखिल र नीताका अलवा शुशिल पोखरेल, विकास चापागाई, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदिप ढकाल, प्रज्ज्वल गिरी, रश्मि भट्ट लगायतको अभिनय रहेको छ ।