अर्को बर्षको जेठ महिना नेपाली चलचित्र क्षेत्रका लागि खास छ । किनकी जेठको सुरुवातदेखी अन्तिम हप्तासम्म सबै डेट लक भइसकेका छन् । केही चलचित्रले निर्माण अगावै जेठ महिनामा आफ्नो रिलिज डेट फाइनल गरिसकेका छन् त केहीले हालसालै जेठ महिना ताक्दै रिलिज घोषणा गरेका छन् । यसैबीच जेठ १९ गते भने तीन ठूला चलचित्रको लडाई हुने संभावना प्रवल देखिएको छ । हालैमा नायक अनुप विक्रम शाहीको मुख्य भूमिका रहेको चलचित्र ‘जालो’ ले जेठ १९ गतेलाई रिलिज डेट फाइनल गरेपछि उक्त मितिमा तीन ठूला चलचित्र रिलिज हुने निश्चिल भएको हो । यसअघि पल शाह र आँचल शर्माको ‘जोनी जेन्टलम्यान’ र विल्सन विक्रम राई अभिनित चलचित्र ‘रातो घर’ ले यो मितिमा आफ्नो रिलिज डेट लक गरिसकेका छन् । अब सोही मितिमा ‘जालो’ पनि हलमा लाग्ने भएपछि जेठ १९ को भिडन्त गज्जबकै हुने अनुमान लगाउन सकिन्छ । निर्देशक अराज केशवले चलचित्र ‘जालो’ का लागि अनुकुल मिति हेरेर नै जेठ १९ गते रिलिज गर्न लागेको जानकारी दिएका छन् ।
वन सटमै खिचिएको चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’ को छायाँकन ४ घण्टामा सकिएको थियो । ‘जालो’ को सिक्वेल हो ‘जालो रिटन्र्स’ । यी दुवै चलचित्र खिच्न अन गरिएको क्यामेरा ४ घन्टापछि सम्पूर्ण छायांकन सकाएर अफ गरिएको थियो । यो विश्वमै पहिलो पटक हो । चलचित्रका निर्देशक अराज केशवले चलचित्र ‘जालो’ को प्रिमियरपछि चलचित्रका लागि गिनिज बुकमा नाम लेखाउने प्रक्रिया पनि सुरु गरिने बताए । यो चलचित्रमा निर शाह, लक्ष्मी गिरी, रविन्द्र खड्का, अनुपविक्रम शाही, निराज प्रधान, रेमनदास श्रेष्ठ, मुना गौचन, प्रमिला खनाल लगायतका कलाकारको अभिनय छ । चलचित्रको कथा रोमान्टिक, कमेडी र सस्पेन्स बिषयमा भएको अराजले बताए ।