नेपाली चलचित्र क्षेत्रका लागि २०७४ बैशाख १ गते अर्थात नयाँ बर्ष विशेष बन्दैछ कारण यो मितिमा एकसाथ तीन ठूला चलचित्रको लडाई हुँदैछ । हुनत, यसअघिका नयाँ बर्षमा पनि नेपाली चलचित्रको लडाई हेर्न नपाइएको होइन । मात्र यस बर्षपनि त्यसले निरन्तरता पाएको हो । नयाँ बर्षका दिनबाट आम मानिस नयाँ सोच र उत्साहका लागि अगाडी बढ्ने संकल्प लिनेभएका कारण पनि यो मितिमा नेपाली निर्माताहरु आफ्नो चलचित्र रिलिज गर्न डराउँदैनन् किनकी यो मिति जसरी आम मानिसका लागि विशेष हुन्छ त्यसरी नै नेपाली चलचित्रका लागि पनि विशेष बन्ने गर्छ । अबको ९ दिनपछि नयाँ बर्ष लाग्दैछ र यो मितिमा तीन ठूला नेपाली चलचित्र रिलिज हुँदैछन् । ति हुन ‘घामपानी’, ‘राधे’ र ‘लभ लभ लभ’ । यी तिनै चलचित्र दर्शकहरुका लागि प्रतिक्षित बनेका छन् तर बाजी कसले मार्ने हो त्यसको रिजल्ट कुर्न भने अब हातका औंला गन्ने दिन आइसकेको छ । हामीले नयाँ बर्षमा रिलिज हुने तीन चलचित्रको एकपछि अर्को गर्दै तपाईहरुलाई जानकारी दिइराखेका छौं ।
यो प्याकेजमा हामी तपाईहरुलाई दयाहाङ राई र केकी अधिकारी अभिनित चलचित्र ‘घामपानी’ को विषयमा जानकारी गराउँदैछौं । यो चलचित्रको ट्रेलर दर्शकहरुले हेरिसकेका छन् भने ट्रेलरकै कारण चलचित्रले छुट्टै हाइप पनि बनाइसकेको छ । तामाङ केटो दयाहाङ राई र बाहुनकी छोरी केकी अधिकारीबीचको प्रेममा आउने विभिन्न घट्नाहरुलाई चलचित्रले प्रस्तुत गरेको छ, जुन ट्रेलरमा पनि देख्न सकिन्छ । दीपेन्द्र लामा निर्देशित यो चलचित्रमा दयाहाङ र केकीका अलवा अकिंत खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, बुद्धि तामाङ, अरुणा कार्की लगायतका कलाकारहरु पनि मुख्य भूमिका छ । यो चलचित्रले एउटै गाउँका दुई फरक जातीका युवा र यूवतीबीच प्रेम हुँदा दुई पक्षको पारिवारिक सम्बन्धमा पैदा हुने उचारचढाव र आफ्नो प्रेम सम्बन्ध सफल बनाउन उनीहरुले गर्ने संघर्षको कथा पेश गरेको छ । चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङ हुन ।
किन प्रचारमा छैनन् दया र केकी ?
चलचित्र ‘घामपानी’ रिलिज हुन दुई हप्ता पनि बाँकी छैन तर चलचित्रका दुवै कलाकारहरु दयाहाङ राई र केकी अधिकारी अहिले बेपत्ता जस्तै छन् । दयाहाङ राई हाल एक चलचित्रको छायाँकनमा व्यस्त छन् भने केकी अधिकारी अष्ट्रेलिया टूरमा छिन् । त्यसैले पनि अहिले चलचित्रको पब्लिसिटी निर्देशक दीपेन्द्र लामा स्वयंले गरिरहेका छन् । यतिसम्मकी चलचित्र घामपानीको ट्रेलर रिलिज कार्यक्रममा समेत दयाहाङ र केकी उपस्थित भएका थिएनन् । कारण, जे नै होस् तर आफ्नो चलचित्र रिलिजको तयारीमा रहँदा कानमा तेल हालेर बस्नु आफ्नै लागि पनि शुभ सन्देश भने होइन । कलाकार चलचित्रको पब्लिसिटीमा हिँड्दा मिडियामा त्यही अनुसारको हल्ला खल्ला हुने गर्छ, जसका कारण दर्शकहरु चलचित्र हेर्न उत्साहित हुन्छन् । कलाकारको सट्टा निर्माता र निर्देशक चलचित्रको पब्लिसिटीमा दौडिँदा न मिडियामा हल्ला हुन्छ नत दर्शकहरु नै चलचित्रप्रति जानकार हुन्छन् । जसले गर्दा हलमा कुन चलचित्र लाग्दैछ भन्ने समेत हेक्का पाउँदैनन् दर्शकहरु । हुनत, हलसम्म दर्शक तान्न चलचित्र आफैमा राम्रो हुनु पर्छ तर त्यसका लागि कलाकारहरु पब्लिसिटीमा दौडिन पनि उतिक्कै आवश्यक छ ।