यति बेला बैशाख १ गते रिलिज हुन लागेको पशुपति प्रसाद निर्देशक दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘लभ लभ लभ’ को खुबै चर्चा छ । चिनिएका अनुहार चलचित्रमा नभएपनि खनाल निर्देशक भएकै कारण ‘लभ लभ लभ’ को प्रतिक्षामा छन् दर्शकहरु । ‘घामपानी’ र ‘राधे’ सँग एकसाथ बैशाख १ गतेबाट हलमा भिडन्त गर्न लागेको ‘लभ लभ लभ’ कस्तो छ त ? यो आम दर्शकहरुको गुनासो हुन सक्छ । यसलाई निर्देशक दीपेन्द्र के. खनालले छोटो उत्तर दिँदै भने, ‘लभ लभ लभ चोखो माया गर्नेहरुको कथा हो । जहाँ निस्वार्थ माया छ ।’
निर्देशक खनालले चलचित्रको नाम ‘लभ लभ लभ’ राख्नुको कारणलाई पनि प्रष्टाए । शुक्रवार पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘लभ लभ लभमा मैले तीन फरक लभको स्टेपलाई देखाएको छु । पहिलो स्टेपमा साथी हुँदाको लभ, दोस्रो स्टेपमा साथीभन्दा माथी हुँदाको लभ र तेस्रो स्टेपमा साँच्चै निस्वार्थ लभ, जहाँ एक प्रेमजोडीले एकअर्कालाई खुबै मन पराउँछन् र चोखो माया गर्छन ।’
यो चलचित्रमा लिड रोल सुरज पाण्डे र स्वस्तिमा खड्काले प्ले गरेका छन् । तपाईहरुलाई बताइदिउँ कि सुरज चलचित्र ‘लभ लभ लभ’ की निर्मात्री शर्मिला पाण्डे र प्रस्तुतकर्ता अमृत पाण्डेका छोरा हुन । यस कारण पनि बजारमा आफ्नै लगानीमा बनेको चलचित्रमा आफ्नै छोरालाई जर्वजस्ती हिरो बनाएको हल्लाहरु पनि खुबै चलिरहेको छ । यस विषयमा दीपेन्द्र अगाडी भन्छन्, ‘निर्मात्रीको छोरा भएका कारण मैले सुरज पाण्डेलाई लभ लभ लभमा लिएको होइन । सुरजले दर्जनभन्दा बढी नेपली चलचित्रमा बालकलाकार भएर काम गरिसकेको छ । चलचित्रको कथावस्तु अनुसार सुरज मिल्ने भएपछि मैले नै सुरजलाई काम गर्न अफर गरेको थिएँ । त्यसपछि मैले सुरजको अडिसन लिएँ अनि मात्र सुरज लभ लभ लभका लागि फाइनल भएको हो । चलचित्रका लागि फाइनल हुनुभन्दा अगाडी सुरजको तौल निकै बढी थियो । उसलाई मैले तौल घटाउन निर्देशन दिएँ र यही चलचित्रका लागि उसले ३२ किलो तौल घटायो अनि मात्र मैले लभ लभ लभमा सुरजलाई लिएको हुँ ।’
उनले पहिलो पटक पूर्णतया लभस्टोरी कथामा चलचित्र निर्माण गरेको बताउँदै ‘लभ लभ लभ’ साधारण एक यूवक र यूवतीबीचको प्रेममा आधारित रहेको बताए ।