निर्देशक तथा निर्माता : रोज राणा
कलाकारहरु : विराज भट्ट, निशा अधिकारी, रविन तामाङ लगायत ।
शुक्रबारबाट देशभरका करिब ८० बढी हलबाट चलचित्र ‘जय परशुराम’ प्रदर्शनमा आएको छ । ५ बर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेका एक्शन नायक विराज भट्ट अभिनित चलचित्र ‘जय परशुराम’ लाई यस बर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । सोलो रिलिजमा उत्रिएको चलचित्र जय परशुराम हेरेपछि सिनेखबरकर्मी मनिष अन्जानले गर्नुभएको समिक्षा :
कहानी
नेपालको नवलपरासी जिल्लामा रविन तामाङको दबदबा हुन्छ । उनले जे चाहन्छन् त्यही नै हुन्छ नवलपरासीमा । त्यहीँ नायिका निशा अधिकारीको पनि घर हुन्छ । काठमाडौंबाट अध्ययन सकाएर उनी आफ्नो घर नवलपरासी पुगेकी हुन्छिन् । लामो समयपछि घर फर्किएकी निशालाई नवलपरासीमा रविनको हर्कतहरुको विषयमा थाहा हुँदैन तर पछि उनले आफ्नै आँखाले रविनको डरलाग्दा हर्कतहरु देख्छिन् । त्यही नवलपरासीमा नायक विराज भट्ट उर्फ पर्शुराम रविनले गर्ने शासनलाई निहालिरहेका हुन्छन् । विराज नवलपरासीको एक जंगलमा बनाइएको कुटीमा बसेर रविनको कामहरुलाई सफल हुन दिएका हुँदैनन् । उनको यो बानीले निशा अधिकारी विराजलाई माया गर्न थाल्छिन् । तर पछि विराज त्यही जिल्लाको डिएसपी भएको देख्न सकिन्छ । त्यसपछि चलचित्रको कथा कसरी अगाडी बढेको छ त्यो हेर्न भने हलसम्मै जानु पर्छ ।
निर्देशन
चलचित्र निर्माणमा आफुलाई सफल निर्माताको रुपमा स्थापित गराएका रोज राणाले पहिलो पटक यो चलचित्र निर्देशन गरेका हुन् । एक्शन प्रधान यो चलचित्रमा रोजको निर्देशकीय पक्ष उत्कृष्ट देख्न सकिन्छ । कार्ही कतै रोजको निर्देशनमा कमजोरी देखिएपनि त्यसलाई विराजको एक्शन पाटोले पुरिदिएको छ । चलचित्र हेरेपछि दर्शकहरुले निर्देशक रोज राणा पनि तारिफ गर्छन ।
कलाकारको अभिनय
चलचित्रमा अभिनय गरेका सबै कलाकारहरुले परफेक्ट अभिनय गरेका छन् । चलचित्रमा निशा र विराटको केमेष्ट्रि राम्रै जमेको देख्न सकिन्छ । चलचित्रमा खलनायकको भुमिका निर्वाह गरेका रविन तामाङको अभिनयले अझ चलचित्र सुन्दर बनाएको छ । उनलाई खलनायकको भुमिका राम्रै सुहाएको छ ।
द्धन्द्ध
चलचित्रको द्धन्द्ध निर्देशन सबैभन्दा उत्कृष्ट छ । एक्शन पाटोलाई विशेष ध्यान दिएको चलचित्र जय परशुराममा द्धन्द्ध निर्देशनको जिम्मेवारी सम्हालेका एन.वी महर्जनको काम त्यतिक्कै राम्रो छ । उनको द्धन्द्ध निर्देशनले चलचित्र जय परशुराम धमाकेदार एक्शन फिल्म बनेको छ भन्दा फरक पर्दैन । एन.वीले यस चलचित्रमा अहिलेसम्मकै फरक एक्शन प्रस्तुत गरेका छन् ।
संगीत
चलचित्रमा दुई गीत समाबेश छन् । दुवै गीतमा विराज र निशाको जोडी बाँधिएको छ । “मन पो बेइमानी” र “म त हुन्छु जस्तो लाग्थेन” बोलका दुई गीतमा स्वर, शब्द र संगीत उतिक्कै उत्कृष्ट छन् । गीतमा कोरियोग्राफी अझ अब्बल देखिन्छ ।
फिल्म हेर्ने कि नहेर्ने ?
यदी तपाई नायक विराज भट्टको एक्शन हेर्न चाहनुहुन्छ भने यो चलचित्रले तपाईहरुलाई भरपुर मनोरञ्जन दिन्छ । तपाईले लामो समयपछि नेपाली चलचित्रमा फरक एक्शन हेर्न पाउनुहुनेछ ।