२०७४ को दशैंमा तीन चलचित्र रिलिज हुने लगभग पक्का थियो । रेखा थापाको ‘रुद्रप्रिया’, निखिल उप्रेतीको ‘पिँजडा ब्याक अगेन’ र शिल्पा पोख्रेलको ‘मंगलम’ । अन्ततः रेखाले दशैं छोड्दै तिहारको लक्ष्मी पूजा ताकिन् भने नायक निखिल उप्रेतीको माघको ५ गतेलाई ‘पिँजडा ब्याक अगेन’ को रिलिज डेट लक गरेका छन् । निखिल र रेखाले दशैंबाट हात झिकेपछि अहिलेको अवस्थामा भने शिल्पाको ‘मंगलम’ एक्लो देखिएको छ । चलचित्र ‘मंगलम’ असोज ११ गते फूलपातीबाट हलमा लाग्दैछ ।
चलचित्र ‘पिँजडा ब्याक अगेन’ का वितरक गोपाल कायस्थका अनुसार, अब यो चलचित्र माघ ५ गतेबाट हलमा लाग्नेछ । छायाँकन अन्तिम चरणमा रहेको यो चलचित्रमा निखिलको अपोजिटमा नव-नायिका सारा शेर्पाली लिड रोलमा छिन् ।
हिमाल केसीले निर्देशन रहेको यो चलचित्रमा निखिल र साराका अलवा सुस्मिता केसी, सुन्दर श्रेष्ठ, पुकार भट्टराई, भोला सापकोटा लगायतका कलाकारहरुको अभिनय छ । श्री राम बराल प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई रोहित पुरी, गोविन्द गैरे र चन्द्र अधिकारीले निर्माण गरेका हुन ।
सुशान्त श्रेष्ठ कार्यकारी निर्माता रहेको यो चलचित्रमा मौनता श्रेष्ठको लेखन, सौरभ लामाको छायाँकन, महेश खड्का, बसन्त सापकोटा, अर्जुन पोख्रेल र राजनराज सिवाकोटीको संगीत, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, कृष्णहरी बराल, राजनराज सिवाकोटी र मुक्त उदासको गीत रचना रहेको छ ।