काठमाडौं । नेपाली फिल्ममा पशुपति प्रसादका रुपमा चिनिने अभिनेता खगेन्द्र लामिछाने अब हिँडेरै अमेरिका पुग्ने भएका छन् । हवाइजहाज चढेर अमेरिका जाने प्रचलन बढिरहेका बेला खगेन्द्र भने आफ्ना अन्य दुई साथीका साथ हिँडेरै अमेरिका पुग्ने तयारी गरेका हुन् ।उनीसहित उनका साथीलाई हिँडाएरै अमेरिका पु¥याउने काम चाहिँ निर्देशक दीपेन्द्र के खनालले गर्दैछन् । दीपेन्द्रले निर्देशन गर्न लागेको नाम नखुलाईएको नयाँ फिल्ममा खगेन्द्रलाई हिँडेरै अमेरिका पुगेका युवकका रुपमा प्रस्तुत गर्न लागिएको छ । फिल्मलाई नेपाल, भारत, ब्राजिल, मेक्सिको र अमेरिकासहित झन्डै १२ देशमा खिचिनेछ ।
‘यो फिल्ममा नेपालदेखि अमेरिकासम्म हिँडेर पुग्न चाहने तीन युवाको कथालाई हामी प्रस्तुत गर्नेछौं,’ फिल्मबारे जानकारी दिन शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक खनालले भने, ‘त्यो यात्राका दौरान युवाका दुख, भोगाई, संघर्षलगायतका कुरा फिल्ममा देखाउनेछौं । मनोरन्जन र कमाइबाट माथि उठेर फिल्मले सामाजिक दायित्वसहितको सन्देश दिने कथा फिल्मले प्रस्तुत गर्नेछ ।’
पाँच करोडको लगानीमा बन्ने यो फिल्ममा ‘लभ लभ लभ’का निर्माता शर्मिला पाण्डेले आफ्नो व्यानर सुरज सिने आर्ट्स र दीपेन्द्र के खनालको व्यानरसँग सहकार्य गर्नेछिन् । निर्मात्री शर्मिलाले अघिल्लो फिल्म भन्दा राम्रो कथामा फिल्म बनाउन लागेको बताइन् । मंसिर १५ गतेदेखि सुटिङ सुरु हुने फिल्मका लागि हालसम्म कलाकारका रुपमा खगेन्द्र लामिछाने मात्र फाइनल भइसकेका छन् । खगेन्द्रले फिल्मको कथा मनपरेकाले आफुले मेहनत गर्ने बताए ।
चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईले यसवर्ष बोर्डको राजस्व संकलन १७ करोड पुगेको र उक्त रकम मौलिक एवं सन्देशमूलक फिल्ममा लगानी गर्ने बताए । यस फिल्मलाई आवश्यक सहयोग गर्न बोर्ड तयार रहेको उनले सुनाए । फिल्ममा अमृत पाण्डे प्रस्तुतकर्ता छन् ।