मुम्बई(एजेन्सी) । बलिउडमा हँसिली र ग्ल्यामर आमाको पहिचान बनाएकी अभिनेत्री रीमा लागूको ५९ वर्षको उमेरमा निधन भएको छ । टाउको दुःखेपछि मुम्बईको कोकिला बेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएकी उनको बिहीबार बिहान एक बजे निधन भएको हो । उनका ज्वाई विनय वायकुलले सञ्चारमाध्यमलाई आफ्नी सासुको निधन भएको जानकारी दिएका छन् ।
रीमा मराठी र हिन्दी फिल्ममा चिनिएकी अनुहार थिइन् । टेलिभिजनको दुनियाँमा पनि उनी लोकप्रिय थिइन् । उनले धेरै सिरियलमा काम गरेकी थिइन् । मराठी रंगमञ्चमा दशकौंसम्म सक्रिय रहेकी उनी बलिउडको ममतामयी ग्ल्यामरस आमाका रुपमा पनि चिनिन्छिन् ।
उनले अभिनय गरेका ‘मैने प्यार किया’, ‘आशिकी’, ‘साजन’, ‘हम आपके हैं कौन’, ‘वास्तव’ र ‘हम साथ साथ है’ जस्ता स्मरणीय फिल्ममा आफ्नो अभिनय कला देखाएकी थिइन् । ‘हम साथ साथ है’मा उनको भूमिका कैकेयीबाट प्रेरित भए पनि त्यो भूमिकाबाट दर्शकको तारिफ बटुलिन् । फिल्म ‘वास्तव’मा उनले ‘मदर इण्डिया’की नरगिसको सम्झना गराएकी छन् ।
म्युजिक रोमान्टिक फिल्म ‘मैंने प्यार किया’ का लागि उनले सन् १९९० मा ‘सर्वश्रेष्ठ सहायक अभिनेत्री’को ‘फ़िल्मफ़ेयर अवॉर्ड’ जितेकी थिइन् । सन् १९९१ मा अर्को म्युजिकल सुपरहिट फिल्म ‘आशिकी’बाट पनि रीमाले ‘बेस्ट सपोर्टिंग एक्ट्रेस’ को ‘फ़िल्मफ़ेयर अवार्ड’ पाइन् । उनले फिल्मी करियर श्याम बेनेगलको फिल्म ‘कलयुग’बाट शुरु गरेकी थिइन् ।