नेपालमा थ्रिलर जनराको फिल्महरु कमैले व्यापारिक सफलता हात पार्छन् । समिक्षक तथा फिल्मकर्मीले मन पराउँछन् तर दर्शकको साथ कम देखिन्छन् अनि आरोप लाग्छ यो प्रकारको फिल्म नेपाली दर्शकलाई पच्दैन प्रकारको ।
यहि बीचमा गत शुक्रबारबाट सस्पेन्स थ्रिलिर जनराको फिल्म ‘पर्व’ रिलिज भएको छ । ६० बढि हलमा एकसाथ प्रदर्शनमा रहेको फिल्मको ओपनिङ कस्तो रह्यो त दर्शकको कौतुहलताको विषय हुनसक्छ । निर्माण टिम तथा वितरक कम्पनिले आधिकारिक रुपमा फिल्मको व्यापारिक रिपोर्ट सार्वजनिक नगरेपनि फिल्मले औसत सुरुवात गरेको निर्माण टिमले दाबी गरेको छ ।
शुक्रबार सन्तोषजनक मात्रै देखिएको विजनेस शनिवार गणितिय फर्मुला अनुसार ‘प्लस’ भएको हल सञ्चालकहरुबाट जानकारीमा छ । फिल्मलाई सिंगल स्कृन तथा मल्टिप्लेक्समा दर्शकले शनिबार राम्रै साथ दिए । हाउसफुलमा खबर बाहिर आउन पाएनन् तर जति दर्शक हलमा पुगे उनिहरुलाई भेट्न हलमै पुगेका लिड कलाकार सहितको निर्माण टिमसँग उपस्थित दर्शकले खूसी साटे ।
शनिबार राजधानीमा मल्टिप्लेक्स तथा सिंगल स्कृनमा अभिनेत्री नम्रता श्रेष्ठ, अभिनेता कोशिश क्षेत्रीसँगै अर्का दुई लिड कलाकार जेविका कार्की र माला लिम्बु पुगेका थिए । जहाँ कलाकाहरुले नजिकबाट दर्शकको प्रतिक्रिया लिए । कामको अनि उठान गरेको विषयवस्तु र प्रस्तुतीको तारिफ पाउँदा निर्माण टिम र कलाकारहरु दंग देखिए ।
दिनेश राउत निर्देशित फिल्मलाई सुवास गिरी र निकिता पौडेलले निर्माण गरेका हुन् । नम्रताले करिब बर्षदिन पछि पर्दामा पुनरागम गर्दा कोशिशको लागी करियरकै दोश्रो फिल्म ‘पर्व’ हो ।