पर्याप्त दुध उत्पादन गर्ने बरबोटे –४ का गाईपालक किसान ठाकुर निरौला दुधले पर्याप्त मुल्य नपाएको गुनासो गर्छन् ।
प्यङ्ग ५ का कृषक देवी गुनासो पनि उस्तै छ । उनी भन्छन्, “दुधको गुणस्तर अर्थात ल्याक्टो र फयट हेरेर दुध २८ देखी ३० रुपैयाँसम्म मात्र बिक्ने गरेको छ ।” निरौला र ढकाल त उदाहरण मात्र हुन् । यस्तो गुनासो इलामका अधिकांश गाईपालक किसानको छ। जिल्लामा दुधको उत्पादन वढेको तथ्यांक आइरहँदा उनीहरु भने दुध उचित मुल्य नपाएको बताउँछन् ।
यता आर्थिक वर्ष २०७१/७२ को तुलनमा ७२/७३ मा दुधको उत्पादन वृद्धि भएको जिल्ला पशु सेवा कार्यालय, इलामको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक बर्षमा रु. १ लाख २१ हजार ५४३ मेट्रिक टन दुध उत्पादन भएको थियो भने आर्थिक बर्ष २०७२÷७३ मा बढेर १ लाख २१ हजार ५६२ पुगेको पशु सेवा कार्यालयका प्राविधिक डिकबहादुर कार्कीले बताए । उनले भने, “यस वर्षमा केही बृद्धि भएपनि तर यो विगतका वर्षको तुलनाको उत्पादन बृद्धि दरमा भने कमी हो ।”
जिल्लाभर १४२ वटा गाइ फार्म दर्ता गरी किसानहरु दुध उत्पादन गरिरहेका छन् । फार्म दर्ता नगरी गाई पाल्ने किसानको सख्यापनि ठुलो रहेको कार्यालयले जनाएको छ । जिल्लामा एउटा भैसी फार्म दर्ता भएर सञ्चालन भइरहेको छ । जिल्लाका धेरै दुध उत्पादन हुने क्षेत्रहरुअनतर्गत पुर्वमा पशुपतिनगर, सुर्योदय नगरपालिका, गोदक, साखेजुङ, लक्ष्मीपुर, शान्तिपुरलगायत रहेका छन् ।
बरबोटे –७ मा अवस्थित नवरत्न औद्याेिगक कृषि तथा पशुपालन केन्द्रका सदस्य गौतम गुरुङले दैनिक २०० लिटर दुध उत्पादन गर्दै आएका छन् । स्थानीय ९ जना लगानीकर्ताले खोलेको फार्म अहिले जिल्लाकै नमुना फार्म बन्दै छ । यस्ता फर्मको संख्या वृद्धि भए सँगै दुध उत्पादनमा पनि बृद्धि भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । रोजगारी र दुधउत्पादन बृद्धि गर्नका लागि सरकारले फार्म संचालनमा अनुदान दिए पनि अनुदान प्राप्त गाई फार्म भने वन्द भइरहेका छन् । फार्महरु बन्द हुने मुख्य कारणमा गाईपालनका लागि आवश्यक पूर्वाधार जुटाउन नसक्नु , आवश्यक घाँस, दाना–पानी सहज रुपमा पुर्याउन नसक्नु आदि रहेका छन् । त्यसैगरी अनुदानवाट संचालित फार्म पनि गत वर्षको नाकाबन्दी, मिल्क होलिडेलगायतले बन्द भएको जानकारहरु बताउछन् ।
इलाममा दुधको पहिलो विक्री केन्द्र दुग्ध विकास संस्थान हो । यसले यस क्षेत्रमा उत्पादन भएका अधिकांश दुध खरिद गर्ने गर्दछ । साथै इलाममा २४ वटा चिज कारखाना र २४४ जति घरेलु छुर्पी उद्योग रहेका छन् । उत्पादित दुधवाट चिज, छुर्पी, ललिपपलगायतका दुग्ध परिकार उत्पादन हुने गरेका छन् । -सरल पत्रिका