मुम्बई(एजेन्सी)। बलिउड स्टार आमिर खानको फिल्म ‘दंंगल’ कसलाई, कति र कहाँ कहाँ मनपर्यो भन्ने कुरा बताउन कसैलाई आवश्यक छैन । किनकी फिल्मले पुरा विश्वभरी नै २००० करोड नजिकको कारोबार गरिसकेको छ । रमाइलो कुरा के छ भने हाल चीनमा पनि प्रदर्शन भईरहेको यो फिल्म हेरेपछि चिनियाँ राष्ट्रपति शी जिनपिङले पनि फिल्मको खुलेर तारिफ गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार कजाकिस्तानको अस्तानमा हालका दिनमा संघाई कोओपरेशन अर्गनाइजेशनको सम्मेलन भइरहेको छ । जहाँ कैयौं देशका राष्ट्राध्यक्षको सहभागिता छ । यही सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति जिनपिङसँग हालै भेट गरेका थिए । भेटका क्रममा चिनियाँ राष्ट्रपतिले मोदीलाई आफुले आमिरको फिल्म हेरेको र त्यो फिल्म आफुलाई साह्रै मनपरेको बताएका थिए । उनीहरु दुबैबीच भारत र चीन बीच सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो ।
केही समय अघि चीनका एक वरिष्ठ नेताले आमिरको फिल्मको तारिफ गर्दै यस्ता फिल्म अझ बढी बनाउन आवश्यक रहेको बताएका थिए । आमिरको फिल्मले भारतसहित विश्वका कैयौं देशमा ७ सय ४४ करोडको कलेक्सन गरेको थियो । तर गत मे ५ मा चीनमा रिलिज भएपछि यसले सबै रेकर्डलाई तोडेको थियो । फिल्मले चीनमा ११ सय करोड बढी कमाई गरेको थियो । यो फिल्मले चीनको फिल्म इतिहासमा १ हजार बढी करोड कमाउने ३३ औं फिल्ममा आफ्नो नाम दर्ता गरेको छ ।
हरियाणाको पहलवान महावीरु सिंह फोगट र उनको छोरीको जीवनमा आधारित रहेर बनाइएको यो फिल्म हाल २ हजार करोड कलेक्सन गर्न अग्रसर बनिरहेको छ ।