चलचित्र विकास वोर्डको समन्वयमा चलचित्र निर्माता संघले हरेक हप्ताको शुक्रबार मात्र चलचित्र रिलिज गर्न पाउने नियम बनाएको छ । तर कति निर्माताहरु भने उक्त नियमलाई मिच्दै अन्य बार पनि चलचित्र रिलिज गर्दै आइरहेका छन् । त्यही क्रममा आज बिहिबारबाट दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्र ‘चपली हाईट २’ र ‘वीर विक्रम’ जनै पुर्णिमाको सार्वजनिक विदालाई लक्षित गर्दै प्रदर्शनमा आएको हन् ।
यसअघि भदौ ३ गते प्रदर्शनमा आउने भनेर प्रचार गरिएको दुवै चलचित्रले आज बिहिबारबाट नै चलचित्र प्रदर्शन आरम्भ गरेका छन् । वुधबार ‘चपली हाईट २’ का निर्माता अर्जुन कुमारले आफ्नो चलचित्र भदौ ३ गते शुक्रबार नभएर भदौ २ गते बिहिबारबाट नै प्रदर्शनमा आउने उद्घोष गरेपछि चलचित्र ‘वीर विक्रम’का निर्देशक एवं निर्माता मिलन चाम्सले पनि ‘चपली हाईट २’ बिहिबार प्रदर्शनमा आउने भए आफ्नो चलचित्र पनि बिहिबारबाट नै प्रदर्शन गर्ने बताएका थिए ।
त्यही अनुरुप आजबाट ‘वीर विक्रम’ र ‘चपली हाईट २’ प्रदर्शनमा आएका छन् । आजबाट प्रदर्शनमा आएको चलचित्र ‘चपली हाईट २’ मा आयुष्मान देशराज श्रेष्ठ, परमिता राना र मरिष्का पोख्रेलको अभिनय रहेको छ । चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् भने दिपेन्द्र के.खनालले निर्देशन गरेका हुन् । दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा, नाजिर हुसेन र दीया पुन अभिनित चलचित्र वीर विक्रममा कमेडी, प्रेम, विछोडको कथा समेटिएको छ । यो चलचित्रको वुधबमर राजधानीमा भव्य रेड कार्पेट प्रिमियरमा पनि गरिएको थियो । बान्ड बाजासहित आयोजना गरिएको प्रिमियरमा चलचित्रकर्मी देखी पत्रकारहरुले वीर विक्रम उत्कृष्ट लागेको प्रतिक्रिया दिएका थिए ।