गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर २’ले पहिलो साता बक्सअफिसमा उत्साहजनक व्यपार गरेको छ। पहिलो तिन दिनमा बम्पर ओपनिङ गर्दै ३ करोड ४३ लाख ४१ हजार ग्रस कलेक्सन गरेको फिल्मले बाँकी ४ दिनमा १ करोड ५९ लाख ४३ हजार कलेक्सन गर्न सफल भयो।
पहिलो साताको कमाईबाट फिल्मले लगानी सुरक्षित गरिसकेको छ। पछिल्लो ४ दिनमा सिनेमाले राजधानीबाट क्रमस २५ लाख १५ हजार, ३० लाख १५ हजार, १८ लाख ५५ हजार, र १६ लाख कलेक्सन गरेको थियो। त्यस्तै राजधानी बाहिरबाट क्रमस २१ लाख २५ हजार, १९ लाख २८ हजार, १५ लाख ५ हजार र साताको अन्तिम दिनमा १४ लाख ग्रस कलेक्सन गर्न सफल भयो।
तसर्थ ‘ए मरो हजुर २’ले पहिलो साता देशभरबाट ५ करोड २ लाख ८४ हजार कलेक्सन गर्न सफल भएको छ। दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको फिल्मले दोस्रो साता पनि राम्रो व्यापार गर्ने सम्भवना देखाएको छ। दोस्रो सातामा एक मात्र नेपाली सिनेमा रिलिज हुँदा यसको फाईदा ‘ए मेरो हजुर २’लाई पनि पर्ने देखिन्छ। दोस्रो सातामा फिल्मको ३० प्रतिशत मात्र शो कटौती भएका छन्।
झरना थापाको डेब्यु निर्देशन रहेको फिल्ममा राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतको अभिनय छ। ‘सुहाना इन्टरटेनमेन्ट’को व्यानरमा सुनिलकुमार थापा निर्मित फिल्ममा हरिहर अधिकारीको कथा, सामिप्यराज तिमिल्सिनाको पटकथा र संजय लामाको छायाँकन छ।