प्रदर्शनको पहिलो दिन शुक्रबार सुखद व्यापार गरेको फिल्म ‘जोनी जेन्टलम्यान’ले शनिबार भने देशकभरका प्राय: हलहरुमा हाउसफूलको व्यापार गरेको छ। राजधानीका गोपिकृष्ण, अष्टनारायण, गुण, गंगा र कलंकी लगायत हलहरु हाउसफूल भएको र मल्टिप्लेक्सका बिहानी शोमा ७५ प्रतिशत र दिवा शोहरुमा शतप्रतिशत अकुपेन्सी रहेको वितरक सुनिल मानन्धरले बताए। मोफसलमा पनि दर्शकको चाप राजधानीकै सरह रहेको निर्माता अजय मल्ल ठकुुरीको भनाई छ।
हलमा दर्शक हाउसफूल भएपछि नायक पल शाह, नायिका आँचल शर्मा, निर्देशक नितिन चन्द र निर्माताहरु अजय र एन्डियु पौडेल हलहलमा पुगेका थिए। गोपिकृष्ण र अष्टनारायणका दर्शकसँग उनीहरुले खुसी साटे। पल र आँचलसँग सेल्फी खिच्न उनीहरुका फ्यानहरु झुम्मिएका थिए। शनिबारसँगै असोज ३ गते संविधान दिवसको सार्वजनिक बिदा परेका कारण ‘जोनी जेन्टलम्यान’लाई फाइदा पुग्ने देखिएको छ। पल र आँचको मुख्य भूमिका रहेको फिल्म एक्सन लभ स्टोरी जनराको हो। पल अभिनित यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘म यस्तो गीत गाउँछु’ सफल भएको थियो।