दाङ । डेब्यु निर्देशित फिल्म ‘छक्का पञ्जा’ र दोस्रो फिल्म ‘छक्का पञ्जा २’को सफलताबाट हौसिएकी निर्देशक, निर्मात्री तथा कलाकार दीपाश्री निरौलाले आफूले बनाउने तेस्रो फिल्म लोक संस्कृतिमय हुने घोषणा गरेकी छन् । उनले दाङमा पत्रकारमाझ नयाँ फिल्म फरक स्वादको हुने बताएकी हुन् ।
दीपाले आफु फिल्म क्षेत्रमा कायम भएका रेकर्ड तोड्न नभई दर्शकको मन जित्न आएको दाबी गरिन् । ‘मैले निर्देशन गरेको पहिलो फिल्म सफल र राम्रो भयो । दोस्रो फिल्मको बारेमा केहि व्यक्तिले नकारात्मक टिप्पणी गरेपनि अधिकांश दर्शकले फिल्म मन पराउनुभयो । हामीले दर्शकको मन जित्न सफल भयौं,’दीपाश्रीले भनिन्,‘फिल्म राम्रो भएकै कारण फिल्मले आफ्नो अघिल्लो फिल्मको समेत रेकर्ड ब्रेक गर्ने सम्भावना बढेको छ ।’
दीपाले मध्यान्तरपछि अलि जटिल विषयवस्तु उठाएकाले सबै दर्शकलाई फिल्मको कथा बुझ्न गाह«ो भएको महशुस आफुले पनि गरेको भन्दै अब निर्देशन गर्ने तेस्रो फिल्ममा विषयलाई सामान्य ढगंबाट प्रस्तुत गर्ने र फिल्मलाई लोक संस्कृतिमय बनाउने बताईन् ।
चलचित्र पत्रकार संघ दाङका कोषाध्यक्ष शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा निर्देशक निरौला, फिल्मकी नायिका स्वस्तिमा खड्का र निमार्ता सुमन गिरीले फिल्मलाई सफल बनाइदिएकोमा दर्शकलाई धन्यवाद दिए । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष ध्रुवराज न्यौपानेले गरेका थिए ।