काठमाडौं । ६ वर्ष पछि फिल्म निर्माणमा फर्किएका निर्माता केशव भट्टराई यतिबेला ‘यात्रा अ म्युजिकल भ्लग’को तयारीमा व्यस्त छन् । उनले फिल्ममा ‘ए मेरो हजुर २’ डेब्यु हिरो सलिनमान बनियाँलाई अनुबन्ध गरेका छन् । फिल्मको फष्टलुकमा सलिनमानलाई फिरन्ते लुक्समा क्यामरा बोकेर हिँडेको देख्न सकिन्छ । उनको तस्वीर हेर्दा फिल्मको कथा सलिनमान वरपर नै घुम्नेमा दुई मत छैन ।
निर्माता भट्टराईले फिल्ममार्फत युवापुस्ताको प्रेम र मित्रतालाई देखाउने बताए । ‘फिल्म कथा राम्रो छ । यसैले हामीले निर्माण गर्दैछौ,’उनले भने,‘सलिनमानको अघिल्लो फिल्मको क्रेजलाई यो फिल्मले थप उचाई दिनेमा विश्वस्त छु ।’ उनका अनुसार सुटिङ आगामी वैशाख २५ गतेबाट शुरु हुनेछ ।
फिल्मका नायक सलिनमानले आफूले राम्रो काम गर्ने कोसिस जारी नै राखेको बताए । ‘पहिलो फिल्ममार्फत मैले प्राविधिक कुरा पनि बुझ्ने मौका पाए । यसको कथाले नै मलाइ फिल्म गर्न प्रेरित गरेको हो । मलाइ फिल्मको अफर आयो । कथा लिएर परिवारमा शेयर गरे । सबैजनाले हुन्छ भनेपछि म फिल्म खेल्न राजी भएको हु’सलिमानले भने, ‘म यात्रा गरिरहेको एक युवकको भूमिकामा फिल्ममा प्रस्तुत हँुदैछु । डेब्यु फिल्म भन्दा यसमा मेरो क्यारेक्टरमा फरक पाउनु हुनेछ ।’
निर्देशक सम्राट शाक्यले फिल्म निर्देशनमा आउने सोच बनाएपछि कथामा ध्यान दिएको बताए । ‘त्यहिँ कथाकै कारण मसँग आज यो टिम निर्माण भएको छ । फिल्ममा हामीले यात्राको कथा देखाउदैछौ । यसलाई जर्नी लभ स्टोरी भन्दा पनि हुन्छ ।’ उनले भने । सम्राटसँग आधा दर्जन बढी फिल्ममा मुख्य सहायक निर्देशकको अनुभव छ ।
फिल्ममा सलिनमानसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, विशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतको अभिनय रहनेछ । मल्लिका महतको डेब्यु रहने फिल्ममा चिनियाँ कलाकार जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा अंकित संग्रौला र एन्जल राई बाल कलाकारका रुपमा अभिनय गर्नेछन् ।
कोटकी कालिका देवी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशवसँगै मुक्ति तिम्सिना, मधु क्षेत्री र धर्मराज अधिकारी निर्माता छन् । फिल्ममा सम्राट, सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीको कथा, संजय लामाको छायांकन, कविराज गहतराज र प्रविन सिंहको कोरोयोग्राफी, हिमाल केसीको द्वन्द्व, बनिश शाहको सम्पादन, शम्भुजित बास्कोटासँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत हुनेछ । फिल्म आगामी असोज ५ गते रिलिज हुनेछ ।