काठमाडौं | अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ले प्रतिक्षित फिल्म मध्येको एक हो। यस फिल्मको रिलिज मितिलाई लिएर धेरै चर्चा पनि भइरहेको थियो। अब भने फिल्मले आफ्नो औपचारिक रिलिज मिति तय गरेको छ।
फिल्मका वितरक मनोज राठीका अनुसार यस फिल्म फागुन १७ गतेबाट प्रदर्शनमा आउनेछ। वितरक राठीका अनुसार भिएफएक्सको काम केही ढिला हुने भएका कारण रिलिज मिति केही समय पछाडि सारिएको हो।
दिवाकर भट्टराईले निर्देशित फिल्मलाई भुवन केसीको निर्माण गरेका हुन्। खेलाडीको कथामा निर्माण भएको फिल्ममा अनमोलसँगै सरोज खनाल, सुनिल थापा, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार, सलोन बस्नेत लगायतको मुख्य भूमिका रहेको छ। उपसन सिंह ठकुरी र प्रियंका एमवी चेरीले यसै फिल्मबाट डेब्यु गर्दैछन्।
सामिप्यराज तिमल्सिनाको कथा रहेको फिल्मलाई निर्देशक भट्टराईले नै लेखेका हुन्। सुदिप बराल डिओपी रहेको फिल्ममा नवराज शर्माको छायांकन तथा दीर्घ गुरुङको सम्पादन रहेको छ।