काठमाडौं | ‘गोपी’ फिल्मको पहिलो गीत ‘लक्ष्मी कहिले काली’ बुधबार रिलिज भएको छ। साहित्यकार बुद्धिसागरको शब्द रचना रहेको गीतलाई संगीतकार अर्जुन पोखरेलले आफ्ना पिता बाबुराम पोखरेलसँग मिलेर कम्पोज गरेका हुन्। भजन शैलीको गीत भएकोले अर्जुनले भजनगायक पिताको सहयोग लिएका हुन्।
बजारमा चलिरहेका भन्दा फरक गीत बनेकोले दर्शकश्रोताबाट सकारात्मक प्रतिक्रिया पाउनेमा संगीतकार पोखरेल आशावादी छन्। ‘लोकगीतको लहर चलेको छ, यस्तो बेला मौलिक गीत तयार पार्न पक्कै सजिलो छैन, तर यो गीत भाका, शब्द र वाद्यवादनका हिसाबले परिपक्व बनेको छ,’ पोखरेलले भने। गीतलाई ध्रुव बिस्को र एन्जिला रेग्मीले गाएका छन् भने एरेन्जमेन्ट आशीष अविरलको छ।
फिल्मको कथाकै माग अनुसार गीत तयार पारिएको निर्देशक दिपेन्द्र लामा बताउँछन्। उनले भने, ‘फिल्मका मुख्य पात्र हिन्दु र गाई पाल्ने भएकाले गीतमा उक्त आस्था झल्काउने प्रयास गरेका छौं।’
बुधबार रिलिज भएको गीतमा फिल्मका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, अंकित खड्का, भोला सापकोटा लगायतले नृत्य गरेका छन्। वरिष्ठ नृत्य निर्देशक गोविन्द राईले यही गीतमार्फत् लामो समयपछि औपचारिक रूपमा कोरियोग्राफीमा कमब्याक गरेका छन्। गीतमा राईले तीनवटा भजनटोली, सयजना भन्दा बढी वृद्धवृद्धा र ३२ जना नृत्य कलाकारलाई समावेश गरेका छन्।
सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शैलेन्द्र डि कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन्। फिल्ममा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय हेर्न पाइनेछ।
‘आरोही इन्टरटेनमेन्ट’कालागि आरोही केसीद्वारा निर्मित गोपी माघ १८ गतेबाट नेपालभर प्रदर्शनमा आउँदैछ।
हेर्नुहोस् गीत :