काठमाडौं । आगामी १८ माघबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘रणवीर’ निर्माणको अन्तिम चरणमा पुगेको छ। प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले फिल्मको पोस्टर सार्वजनिक गरेको छ।
अभिनेता सुशिल सिटौलको चरित्रलाई केन्द्रित गरेर फिल्मको पोस्टर तयार पारिएको छ। पोस्टरमा सुशिललाई मात्र फिचरिङ गरिएको छ।
अभिनेता सुशिलले यो फिल्मको लागि ७० केजीबाट आफ्नो तौल १५ किलो बढाएर ८५ केजी तुल्याएका थिए। करिब नौ महिना नियमित जिम गरेर यस फिल्मका लागि आफूले तौलसँगै शारीरिक सुगठित बनाएको सुशिलले बताए।
गोविन्द सिंह भण्डारी निर्देशित फिल्मलाई दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन्। फिल्ममा सुशिलसँगै प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीक पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजालको पनि अभिनय छ।