काठमाडौं | फिल्म ‘प्रेम दिवस’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। प्रियंका कार्की र आयुष्मान देशराज जोशी स्टारर यस फिल्मले बैशाख १३ गते रिलिज हुने पक्का भएको छ।
यसै मितिमा मह संचारको निर्माण रहेको फिल्म ‘दाल भात तरकारी’ पनि रिलिज हुदैँछ। यस मितिमा दुई फिल्म भिड्ने पक्का भएको छ।
फिल्म दाल भात तरकारीमा पनि प्रियंका कार्कीको अभिनय रहेको छ। बैशाख १३ गते नै प्रियंकाको आफैँसँग भिडन्ता पर्नेछ।
म्युजिकल लभस्टोरी फिल्म ‘प्रेम दिवस’लाई योगेश घिमिरेले निर्देशन गरेका हुन्। यसै फिल्मबाट बिशाल खरेलले डेब्यु गर्दैछन्। सञ्जय न्यौपानेको लगानी रहने फिल्ममा कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजको रहेको छ।
बसन्त सापकोटा, करण सिंह कार्की, दीपक शर्मा र महाराज थापाको संगीत रहेको फिल्ममा कविराज गहतराजको करियोग्राफी, मानकृष्ण महर्जनको छायांकन तथा बनिष शाहको सम्पादन रहेको छ।