प्रदेश नं. ४ अन्तर्गत मनाङ (ख) बाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङ्गे) ले फिल्म निर्माण गर्ने भएका छन्। उनले निर्माण गर्ने फिल्म निर्देशनको जिम्मा ‘तिमी सँग’ फिल्मका निर्देशक शिशिर राणाले लिएका छन्। फिल्मका लागि निर्माण यूनिट र निर्देशक बिच लिखित सम्झौता भइसकेको छ।
यसअघि मनाङ्गेले आफ्नै छोरा सिद्धार्थ गुरुङलाई फिल्ममा डेब्यु गराउदै ‘वान वे’ निर्माण गरेका थिए।
चैतको अन्तिम साताबाट फ्लोरमा जाने यस फिल्मको नाम भने खुलाइएको छैन्। फिल्मका लागि कलाकारहरु पनि फाइनल भएका छैनन्। विवाहपछिको प्रेममा आधारित रहेर फिल्म निर्माण गरिने भएकाले फिल्ममा पाका कलाकारहरु रहने निर्देशक राणाले बताएका छन्।
‘रेड बर्ड प्रोडक्सन’को ब्यानरमा बन्ने फिल्मको प्रस्तुतकर्तामा श्यामबहादुर थापा रहने छन् भने कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली रहेका छन्। निर्देशक राणाले यस फिल्मलाई ‘सोसल ड्रामा’ भनेका छन्। फिल्मको एक गीत रेकर्ड भइसकेको छ भने हाल स्क्रिप्टमा काम भइरहेको छ।