अनुपबिक्रम शाही स्टार फिल्म ‘पुरानो बुलेट’ले पोस्टर सार्वजनिक गर्दै अफिसियल प्रचार सुरु गरेको छ। लामो समयको पत्रकारितापछि ‘एक्सन कट’मा होमिएका भिषण राईको डेब्यू निर्देशनमा तयार भएको फिल्मको मंगलबार तीन पोस्टर रिलिज गरिएको छ।
सार्वजनिक पोस्टरमा मुख्य कलाकार अनुपबिक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बु फिचर छन्। पात्रहरुको चरित्र चित्रणसहित सार्वजनिक पोस्टरमा अनुप लामो कपाल, त्यसमाथी रुमाल अनि जिन्स ज्याकेटमा देखिएका छन्। एक पोस्टरमा बुलेटमा अनुप फिचर छन्।
अर्कोतर्फ बर्षालाई गाउँले भेषमा प्रस्तुत गरिँदा माला केहि बोल्ड देखिन्छिन्। सार्वजनिक पोस्टरबाट फिल्म भित्र अनुप र बर्षा गाउँले तथा माला शहरिया युवतीको भुमिकामा रहेको भान हुन्छ।
पछिल्लो क्रममा रिलिज हरेकजसो फिल्ममा एकपछि अर्को गर्दै फरक अबतारमा प्रस्तुत हुँदै आएका अनुपले ‘पुरानो बुलेट’को प्रस्तुती हालसम्म गरेका सबैजसो फिल्मको भन्दा भिन्न रहेको बताउँछन्। स्टाइलिस अभिनेताको छाप छोडेका अनुपले सुरुवाती फेजको ‘खलपात्र’को लोकप्रियतालाई बिस्तारै हिरोइज्ममा (भिलेन टर्न हिरो) टर्न गर्दै अघि बढेका छन्।
चैत १ गतेबाट रिलिज हुने ‘पुरानो बुलेट’को यहि फेब्रुअरी २३ तारिखमा हङकङमा वर्ल्ड प्रिमियर हुँदैछ। वर्ल्ड प्रिमियरलाई मध्यनजर गर्दै पोस्टर सार्वजनिक गरेको निर्माण टिमले यो लगत्तै ट्रेलर रिलिज गर्ने तयारी गरिरहेको छ।
फिल्ममा अनुप बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनयमा छन्। बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतको अभिनय पनि ‘पुरानो बुलेट’ मा समावेश छ।
फिल्मको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन्। सन्तोष यो फिल्मका कार्यकारी निर्माता हुन्। फिल्म ‘पुरानो बुलेट’मा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन्।