पप गायकका रुपमा निकै सफल नाम हो, दिपक बज्रचार्य। उनै दिपकले पहिलो पटक नेपाली फिल्ममा संगीत दिएका छन्। गायक बज्रचार्यको संगीत र स्वर रहेको गीत ‘जाम्न माया जाम’ फिल्म ‘मारूनी’मा समावेश गरिएको छ। मंगलबार कृपा डिजिटल स्टूडियोमा गीत रेकर्ड गरिएको हो।
पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्ममा ३ वटा गीत समावेश छ। जसमा ‘जाम्न माया जाम’ बोलको केही फरक गीत दिपक बज्रचार्यले तयार पारेका हुन्। दिपकले भने–‘मैले धेरै पहिले फिल्मको गीतमा आवाज भरेको थिएँ। तर, फिल्ममा काम गर्न पर्याप्त समय नपाइने, निर्माताले भने अनुसार गीत बनाउनुपर्ने भएपछि मैले यततार्फ रुची देखाइनँ।’
उनले, यसपटक निर्मात्री पूनम गौतमले आफूले भने अनुसार नै काम गर्ने वातावरण बनाएको कारण फिल्ममा संगीत र स्वर दिएको स्पष्ट पारे।
यस्तै, निर्मात्री पूनम गौतमले भनिन्–‘मैले दिपक बज्रचार्यजीले भनेकै जती समय दिएको थिएँ। उहाँले ६ महिना माग्नुभयो, मैले ६ महिनामा भनेजस्तो गीत चाहिन्छ भनेपछि उहाँ काम गर्न तयार हुनुभएको हो। अहिले फाइनल गीत सुन्दा खुशी लागेको छ।’
गायक बज्रचार्यले सामान्य शब्दमा गीत तयार गर्दा दर्शकको मुखमा झुन्डिन्छ भन्ने आफूले वुझेको बताए । यो गीतमा रिक्की शाक्यको शब्द, फिरोज बज्रचार्यको मिक्सिङ र मोहित मुनालको एरेन्जमेन्ट रहेको छ।
यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचरिङ गरिने निर्मात्री गौतमले बताइन्।
फागुन १८ गतेबाट छायांकन सुरु गर्न लागिएको फिल्माई नवल नेपालले निर्देशन गर्नेछन्। फिल्मले आउँदो बर्षको भदौ १३ गते रिलिज गर्ने पक्का गरेको छ।