नम्रता श्रेष्ठ र अनुपविक्रम शाही स्टारर फिल्म ‘जाईरा’ले रिलीज मिति तय गरेको छ। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर २०७६ को भदौ ६ गते यो चलचित्र रिलीज हुनेछ।
एक महिलाले लिने प्रतिशोधको कथामा बनेको यो फिल्ममा नम्रता मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत भएकी छिन्। फिल्ममा प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ सहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमूख अभिनय रहेको छ। नव अभिनेत्री रेग्मी पनि चलचित्रमा खेलाडीको रुपमा रहेकी छिन्। नव अभिनेता मगर नम्रताको कोचको भूमिकामा छन्।
नम्रताले यस फिल्मका लागि आफ्नो लोभलाग्दो कपाल छोट्याउनुका साथै आफ्नो तौल ५१ किलोग्रामबाट घटाएर ४३ किलोग्राम बनाएकी थिइन्। फिल्मको बिषयमा बोल्दै नम्रताले भनेकी छन्, ‘सबै कुरा नेचुरल देखियोस् भनेर तौल घटाएँ, कपाल काटे, ६ महिना एक्सन सिकेँ। अब मैले कति मेहनत गरेको छु त्यसको मुल्यांकन गर्ने काम दर्शकको हो।’
एक्शन प्रधान ‘जाईरा’लाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका छन्। पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन्। यो फिल्म कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको हो। प्रशन्न गोपाली फिल्मका कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने सम्पादनको जिम्मा लोकेश बज्राचार्यले पाएका छन्।
कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ। यसमा केशव थापाको नृत्य निर्देशन छ।