फिल्म ‘माया बस्छ कि के हो’ निर्माण हुने भएको छ। आइतबार एक कार्यक्रम गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। फिल्ममा सोनाल तामाङ र कस्मता निरौलाको मुख्य भूमिका रहने छ। दुबैको यो डेब्यू फिल्म हो।
पारिवारिक लभस्टोरी तथा हास्य कथामा आधारित रहेर निर्माण हुन लागेको फिल्मलाई राजु अधिकारीले निर्देशन गर्नेछन्। जनपुकार मिडिया हाउस प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्तामा शरद अधिकारी छन्। फिल्ममा बहादुर सिंह तामाङ र कृष्ण गिरी कार्यकारी निर्माताका रुपमा रहेका छन्।
असार दोस्रो साताबाट छायांकन सुरु हुने यस फिल्मको सम्पूर्ण छायांकन युरोपमा हुनेछ। फिल्मलाई रविन्द्र बरालले खिच्ने छन्। आरती अधिकारीको कथा रहेको फिल्ममा पटकथा तथा संवाद मौनता श्रेष्ठको रहेको छ ।