फिल्म ‘जाइरा’मा समावेश नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘यो मात चढेको साँझ’ बोलको आइटम गीतमा मिना निरौलाको स्वर रहेको छ। भिडियोमा तनुजा गुरुङले नृत्य गरेकी छन्। गोविन्द राईको करियोग्राफी रहेको भिडियोमा प्रमोद अग्रहरी र श्रृजना रेग्मीलाई पनि देखाइएको छ।
सन् १९७४ मा रिलिज भएको फिल्म ‘मनको बाँध’मा रहेको गीतलाई रिमेक गरिएको गीत हो। मनको बाँधमा समावेश गीतमा भने मिरा राणाले स्वर दिएकी छिन्। गीतमा किरण खरेलले शब्द तथा शिव शंकरको संगीत रहेको छ। ‘जाइरा’को लागि रिमेक गरिएको गीतमा फिरोज बज्राचार्य र डिजे राजुले रिएरेञ्ज गरेका छन्।
भदौ ६ गतेबाट रिलिज हुन लागेको ‘जाइरा’मा नायिका नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ। फिल्ममा उनलाई मार्सलआर्ट खेलाडीको भूमिकामा प्रस्तुत गरिएको छ। फिल्ममा अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, सुजता श्रेष्ठ र सम्राट मगरको पनि मुख्य भूमिका रहेको छ।
आशुतोष राज श्रेष्ठले निर्देशन गरेको फिल्ममा निर्देशक श्रेष्ठ र निरोज महर्जनको लेखन रहेको छ। ‘कटामरी फिल्मस्’को ब्यानरमा निर्माण भएको यो फिल्म ‘नम्रता श्रेष्ठ प्रोडक्शन’ र ‘ट्रेन्डसेटर्स प्रालि’को ब्यानरमा प्रस्तुत भएको हो। प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको यो फिल्मलाई बाबु श्रेष्ठले छायांकन तथा लोकेश बज्रचार्यले सम्पादन गरेका हुन्।