‘सारेगमप लिटिल च्याम्प’मा चौथो स्थान हासिल गरेका आयुष केसीले स्वर दिएको चलचित्रको गीत सार्वजनिक भएको छ । ‘हजार जुनी सम्म’को शिर्ष गीतमा आयुषले स्वर दिएका हुन् । उनले गायक उदय सोताङ्गको हिट गीतमा आफ्नो आवाज दिने मौका पाएका हुन् । चलचित्रमा उदयको गीतलाई रि–एरेन्ज गरिएको छ । गीतलाई उदयले नै तयार पारेका हुन् ।
चलचित्रमा उदय र आयुष दुबैको स्वर छ । गीतमा पवन चाम्लिङ्गको शब्द र योगेन्द्र घतानीको संगीत छ । गीतमा उदयको आवाजमा नायक आर्यन सिग्देललाई फिचरिङ गरिएको छ भने आयुषको आवाजमा बाल–कलाकार अनुभव रेग्मीलाई फिचरिङ गरिएको छ ।
साउन ३० गतेबाट रिलिज हुने चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, संचिता लुइटेल, अनुभव रेग्मी, सलोन बस्नेत, अभिषेक प्रधान, शिवहरि पौडेल लगायतको अभिनय रहेको छ । विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रलाई सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको चलचित्रमा विशाल चाम्लिङ्को लगानी छ ।