भदौ ६ गतेबाट प्रदर्शनमा आएको नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ को ओएसटी ‘जिन्दगीको खेल’ सार्वजनिक भएको छ।
‘टम्बल वीड’ ब्याण्डले तयार पारेको यो गीतको भिडियोमा प्रियंका आरएल थापा, मोनिषा कर्माचार्य, मोनिका कर्माचार्य र सेलिषा श्रेष्ठको गेस्ट अपिरियन्स छ। पदम बहादुर श्रेष्ठ ‘बाबु’ले गीत खिचेका हुन्।
बदलाको कथामा आधारित भएर बनेको ‘जाइरा’ मा अभिनेत्री नम्रता मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन्। फिल्ममा उनलाई एक्सन अवतारमा देख्न सकिन्छ।
फिल्ममा नम्रतासँगै प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरलगायतको अभिनय छ।
फिल्मका निर्देशक आशुतोष राज श्रेष्ठ हुन्। प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्राचार्यको सम्पादन छ। फिल्मको पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनको हो।
दर्शकबाट मिश्रित प्रतिक्रिया बटुलेको यो फिल्मले बक्सअफिसमा सन्तोषजनक व्यापार गरिरहेको निर्माण पक्षको दावी छ। फिल्म हेर्ने दर्शकले अभिनेत्री नम्रताको अभिनय र मेहनतको प्रशंसा गरेका छन्।