चैत २८ गते रिलिज हुने फिल्म ‘प्रेम गीत ३’को पहिलो गीत सार्वजनिक भइसकेको छ। सार्वजनिक ‘हात्ती ढुङ्गामा’ बोलको गीतले युट्युब ट्रेण्डिङको नम्बर १ स्थान पनि हासिल गर्न सफल भएको थियो।
अब भने सोही गीतमा टिकटक बनाउनेलाई फिल्म निर्माण पक्षले स्कुटर उपहार दिने भएको छ। निर्माता सन्तोष सेनका अनुसार उक्त गीतमा टिकटक बनाउनेहरु मध्ये सर्वाधिक भ्युज र लाइक पाउनेलाई स्कुटर उपहार दिन लागिएको हो। उत्कृष्ट भिडियो बनाउने ३ जनालाई स्मार्ट फोन पनि दिइने सन्तोषले बताए।
सन्तोषका अनुसार टिकटक भिडियो ओरजिनल भिडियोमा भएको जस्तै स्टेपमा बनाउनु पर्नेछ। बनाएको भिडियोलाई #Premgeet3 र #Chaitra28 लेखेर पोष्ट गर्नुपर्नेछ। भिडियो चैतको २७ गतेसम्म बनाउन सकिने सेनले बताए।
सार्वजनिक उक्त गीतमा सागर आले र मेलिना राईले स्वर दिएका छन्। हर्क साउदको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ। कविराज गहतराजको नृत्य निर्देशनमा बनेको भिडियोमा फिल्ममा मुख्य कलाकार प्रदीप खड्का र कृष्टिना गुरुङ फिचर भएका छन्। भिडियोमा सुनिल थापा र माओत्से गुरुङलाई पनि देखाइएको छ।
२ सय वर्ष पूरानो कथामा निर्माण भएको यस फिल्मलाई निर्माता सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन्। फिल्ममा शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, पुष्कर कर्की लगायतको मुख्य भूमिका रहेको छ। निकै मंहगो बजेटमा तयार भएको यस फिल्मलाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ।