आउँदो भदौ २९ गते नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदैछ । २०७३ भदौ २९ गते प्रतिस्पर्धाबाट उनी प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । घिसिङको कार्यकाल सकिनै लाग्दा बजारमा उनको पुनः नियुक्ति हुने वा नहुने विषयमा विभिन्न चर्चा परिचर्चा चल्न थालेको छ । यस्तै, प्राधिकरणले अबको नेतृत्व कस्तो पाउँला भन्ने चौतर्फी चासोको बिषय बनिरहदा कलाकारहरूले पनि आ-आफ्ना धारणा सार्बजनिक गर्दै घिसिङको पक्षमा आफ्नु मत व्यक्त गरेका छन। कलाकार हरिवंश आचार्य लेख्छन्–‘यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ । उज्यालो ल्याउनेलाई सम्मान गरौं । कुलमानको उर्जाले देशको उर्जा बढ्छ । हरिवंश आचार्यले कुलमानको पक्षमा यो स्टाटस लेखेका छन। नायिका करिश्मा मानन्धरले कुलमान घिसिङको विकल्प विद्युत प्राधिकरणमा अरु कोहि नरहेकोले उनको निरन्तरता हुनु पर्ने उल्लेख गरेकी छिन् । करिश्मा लेख्छिन्–‘थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने मान्छे कमै हुन्छन् । कुलमान घिसिङ फेरि चाहिन्छ । गायक शिव परियारले पनि पुनः एकपटक कुलमान घिसिङले विद्युत प्राधिकरण हाकेको हेर्न चाहेको उल्लेख गरेका छन् । उनी लेख्छन्–‘म व्यक्तिगत रुपमा कुलमान घिसिङ्ले पुनः एकपटक विद्युत प्राधिकरणको हाकिम हुनु पर्दछ भनेर नेपाल सरकारसँग एउटा नेपाली नागरिकको हैसियतमा जोडदार माग गर्दछु । अहिले देशलाई, अहिले मात्र हैन सधैभरि देशलाई उज्यालो चाहिएको छ । अब, नेपाल सरकारको निर्णय कुरेको छु हेरौं । आशा छ, उज्यालो प्रेमी हामी जस्ता तमाम नेपाली जनताको भावनाको नेपाल सरकारले सम्मान गर्नेछ । सामाजिक संजालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनुपर्छ भन्ने आवाज उठिरहेको समयमा सेलिब्रिटीले समेत यसमा समर्थन जनाउन थालेका छन् ।
आफ्नु कार्यकाल सकिनै लाग्दा घिसिङले प्राधिकरणमा एक कार्यकाल पुन बस्ने इच्छा देखाएका हुन । यदि बर्तमान सरकारले विश्वास गरेमा उनले कार्यकारी निर्देशकमा निरन्तरता पाउने छन । उनी प्रतिस्पर्धाबाट नभई सरकारले सिधै नियुक्त गरेमा मात्र प्राधिकरणको कार्यकारी निर्देशक बन्ने चाहाना राखेको बुझिएको छ । यद्यपी, सरकारले घिसिङलाई मन्त्रिपरिषदबाट निर्णय गरेर पुनः नियुक्त गर्ने नगर्ने यकिन छैन । विद्युत प्राधिकरण ऐन २०४१ मा सरकारले उपयुक्त व्यक्तिलाई कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त गर्न सक्ने उल्लेख छ । यसअघि प्राधिकरणको नेतृत्वमा डा. जनकलाल कर्मचार्यलाई पनि सरकारले पुनः नियुक्ति गरेको नजिर छ ।