अन्तर्राष्ट्रिय फ्रेन्चाईज गायन रियालिटी शो ‘अमेरिकन आईडल’को नेपाली सस्करण ‘नेपाल आईडल’ तेश्रो सिजन सम्पन्न भएको छ । आईडलको स्टुडियोबाटै भएको ग्रान्ड फिनालेबाट तेश्रो सिजनको बिजेता मोरङकी सज्जा चौलागाईं बन्न सफल भएकी छन् । साथै प्रवीण भेटवाल फर्स्ट रनरअप र किरण कुमार भुजेल सेकेन्ड रनरअप बन्न सफल भएका छन् । यो संगै बिजेता चौलागाईंले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन । यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन ।
ग्रान्ड फिनालेको सम्पुर्ण प्रस्तुतिहरु सकिए पश्चात् नेपाल आईडल निर्माण टोलिका एकजनामा कोरोना पोजेटिभ देखिए पछि प्रस्तुति पछाडिका सबै कार्यक्रम स्थगित गर्दै नेपाल आईडलका प्रतिष्पर्धी तथा जर्जहरु आईसुलेसनमा जानुपर्ने बाध्यता आईपरेको थियो । तर दर्शकको व्यग्र प्रतीक्षालाई ध्यानमा राख्दै अन्नपूर्ण मिडिया नेटवर्कका क्याप्टेन रामेश्वर थापाले नतिजा घोषणा गरेका थिए । वाईल्ड कार्ड एपिसोड देखि कोरोना महामारीका कारण रोकिएको नेपाल आईडल-३ को एपिसोडहरु केही साताअघिबाट मात्रै सुरु भएको थियोे । वाईल्ड कार्ड ईन्ट्रीबाट किरण भुजेल प्रतिष्पर्धाको लागि भित्रिएका थिए ।
सरकारको आदेशलाई पालना गर्दै नेपाल आईडल परिवारले ग्रान्ड फिनालेलाई स्टुडियो भित्रै खुम्च्याएको हो । सिमित दर्शक, निर्णायक, वाध्यवाधक, प्रतिष्पर्धी र यसअघि प्रतिष्पर्धाबाट बाहिरिएका केहिको उपस्थिति रहेको थियो । ग्रान्ड फिनाले कार्यक्रमलाई एपिवान टेलिभिजन र नेपाल आईडलको अफिसियल युट्युब च्यानलबाट लाईभ प्रसारण गरिएको थियो । गएको सिजनहरुमा झै कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्युु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका थिए ।