चलचित्र बिकास बोर्डले बर्ष २०७६ का लागी राष्ट्रपति भवन शित्तल निवासमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार वितरण आइतबार सम्पन्न भएको छ ।
राष्ट्रिय चलचित्र पुरस्कारबाट दीपक राज गिरी उत्कृष्ट अभिनेता र सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री सम्मानित भएका छन्। उनिहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ट्रफि प्रदान गरिएको हो। सुरक्षा पन्तले ‘आमा’ फिल्मबाट उत्कृष्ट अभिनेत्री र दीपकराज गिरीले ‘छ माया छपक्कै’ बाट उत्कृष्ट अभिनेताको पुरस्कार प्राप्त गरेका हुन्।
‘आमा’ फिल्मले उत्कृष्ट फिल्मको पुरस्कार पनि जितेको छ भने यसै फिल्मबाट दीपेन्द्र के खनालले उत्कृष्ट निर्देशकको पुरस्कार प्राप्त गरेका छन् ।
प्राविधिक विधातर्फ हरि हुमागाईँले ‘छ माया छाप्पक्कै’ बाट छायांकन विधामा पुरस्कार हात परे। सम्पादनतर्फ निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले ‘कबड्डी कबड्डी कबड्डी’ बाट पुरस्कार प्राप्त गरे।
पटकथा तर्फको पुरस्कार भने ‘जात्रै जात्रा’ का लागि प्रदीप भट्टराईले प्राप्त गरे। समारोहमा ‘जीवन काँडा कि फूल’ फिल्मबाट आस्था थापा र फिल्म ‘रातो टिका निधारमा’बाट अंकित शर्माले नव प्रतिभा सम्मान प्राप्त गर्न सफल भए ।
कार्यक्रममा भुवन चन्द र शम्भुजित बाँस्कोटालाई दीर्घ साधना सम्मान प्रदान गरियो। दीर्घ साधना सम्मानको राशि तीन लाख ५१ हजार एक सय ११ रूपैयाँ रहेको छ। भुवनलाई २०७६ र शम्भुजितलाई २०७७ सालको दीर्घ साधना सम्मान प्रदान गरिएको हो। समारोहमा दुई दर्जन चलचित्रकर्मीलाई सम्मान प्रदान गरिएको थियो ।