मुम्बई(एजेन्सी) । कन्नड टेलिभिजन अभिनेत्री चेतना राजको बेंगलुरुको एक अस्पतालमा निधन भएको छ । २१ वर्षीया अभिनेत्री केही दिनयता अस्पतालमा उपचाररत थिइन् । केही दिन अघि शरीरको तौल कम गर्नका लागि उनले प्लाष्टिक सर्जरी गराएकी थिइन् । तर सर्जरीमा भएको गल्तीका कारण उनको फोक्सोमा समस्या देखिएको थियो ।
समाचारअनुसार सर्जरीपछि चेतनाको शरीरमा केही समस्या देखिएको थियो । फोक्सोमा पानी जम्मा भएपछि यहीकारण उनको मृत्यु भएको हो । यद्यपि चेतनाले सर्जरीको बारेमा आमाबाबुसँग केही बताएकी थिइनन् । उनी साथीसँग अस्पताल गइन् र सर्जरीका लागि भर्ना भइन् । चेतनाका आमाबाबुले छोरीको मृत्युको दोषी डाक्टर भएको आरोप लगाएका छन् ।
चेतनाको शव हाल अस्पतालमै राखिएको छ । पोस्टमार्टका लागि शवलाई अर्को अस्पताल लगिनेछ । चेतनाका परिवारले अस्पताल प्रशासनविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
चेतना कन्नड टेलिभिजन उद्योगकी लोकप्रिय अभिनेत्री थिइन् । उनलाई दर्शकले ‘गीता और दोरेसनी’बाट चिन्दथे ।