निर्देशक तुलसी घिमिरेलाई नचिन्ने सायदै होलान् किनकी नेपाली चलचित्र क्षेत्रमा सफल निर्देशकहरुको नाम लिनु पर्दा तुलसी घिमिरेको नाम उत्कृष्ट ५ मा पर्ने गर्छ । उनले नेपाली चलचित्रमा गरेको योगदानलाई न कसैले भुल्न सक्छन् न उनी आफै पनि त्यसलाई नकार्न सक्छन् किनकी जति बेला नेपाली चलचित्रले बामे सार्दै थियो त्यो बेला उनको निर्देशनमा तयार भएका फिल्मले ब्लक बष्टर व्यापार गर्ने गर्थ्यो । अझ यो भनौ, चलचित्र भनेकै तुलसी घिमिरे र तुलसी घिमिरे भनेकै चलचित्र थियो कुनै बेला नेपालमा । यो भनिरहँदा उनका फिल्महरु फल्प नै भएनन् भन्ने होइन तर उनले दर्शकहरुको साथ भने सधै पाइरहे । धेरैलाई तुलसी घिमिरेको एक यर्थाथ थाहा नहोला कि उनी नेपाली नागरिक होइन । तर उनलाई नेपाली नागरिकले अनागरिक कहिले पनि ठानेनन् । व्यबहारिक र कानुनी जटिलताले मात्र कठिन भएको हुँदा उनी आधिकिारीक रुपमा नेपाली नागरिकको हैसियतमा आफुलाई प्रस्तुत गर्न नपाएका मात्र हुन् ।
उनी सन् १९५१ मा भारतको कालिम्पोङमा जन्मिएका हुन् । तर उनले आफ्नो कर्म थलो नेपाललाई बनाए । केही दिन अगाडी मात्र दर्पण छाँया २ को छायाँकन सकाएर पोष्ट प्रोडक्शनको काम सुरु गरेका तुलसी घिमिरेको जीवन संघर्षका यात्रा निकै दर्दनाक छन् । तीन दिनसम्म भोकै बसेको देखी गुरु कमलाकर कार्खनिसले दिएको दक्षिणाले उनको जीवनमा आएको परिवर्तन साचिक्कै प्रेरणदायी छन् ।
उनी हिरो बन्नका लागि सन् १९७४ मा कालिम्पोङबाट बम्बई गएका थिए । बाबासँग पाँच सय भारु मागेर उनले बम्बईको यात्रा गरे । तुलसीका अनुसार त्यो समय सिलिगुढीदेखि कलकत्तासम्म रेल भाडा साढे १८ रुपैयाँ लागेको थियो । त्यहाँदेखि बम्बईसम्म ५९ रुपैयाँ । उनलाई त्यति बेला लागेको थियो आफु पनि हिरो बन्न सक्छु तर जब तुलसी बम्बई पुगे अनि थाहा भयो आफु भन्दा सुन्दर र पारिवारिक पृष्ठभूमि राम्रो भएका केटाहरू हिरो बन्नका लागि संघर्षरत छन् । अनि फेरी उनको चाहना मोडियो र उनले सोचे बम्बईमा आफू टिक्ने हो भने नायक नभई प्राविधिक हुनुपर्छ । एक अन्तर्वार्तामा तुलसी घिमिरेले भनेका थिए ।
त्यहीबेला प्रकाश थापा, तत्कालीन रोयल नेपाल फिल्म कर्पोरेशनका सम्पादक सहित सिन्दुर फिल्मको गीत सम्पादन गर्न त्यहाँ पुगे। थापासँग समय थिएन, त्यही दिन काम सिध्याएर भोलिपल्ट नेपाल फर्किने टिकट थियो। घिमिरे भन्छन्, ‘ प्रकाश दाईलाई गीत सम्पादन गर्न स्टूडियोमा समय मिलिरहेको थिएन् । मैले प्रकाश दाइसँग नेपालीमा कुरा गरेँ। यो पहिलो भेट थियो। उहाँले मलाई सानो देखेर होला तिमी पनि नेपाली हौ भन्नुभयो। मैले पनि हो भन्दै गाना काटिदिन्छु दिनुहोस् भनेँ। प्रकाश दाइले तिमीले सक्छौ भन्नु भयो। मैले पनि फटाफट गाना सम्पादन गरेर सुनाएँ, उहाँ खुशी हुनुभयो। जाने बेलामा पैसा दिनु भयो। मैले लिन मानिनँ। लिन्नँ भनेर कर गर्दा पनि दक्षिणा हो राख भन्नु भयो।’
सादापन र सरलता तुलसीका विशेषता हुन् । बोलीमा मिठास र व्यवहारमा इमान्दार उनी अहिलेसम्म पनि नेपालका अनागरिक नै हुन् । अहिलेसम्म आफुले नेपाली नागरिकता प्राप्त गर्न नसकेता उनले नेपालप्रति कुनै गुनासो गरेका छैनन् । नागरिकताको विषयमा तुलसी भन्छन्, ‘नागरिकताको प्रश्नमा म बोल्न चाहन्नँ। भगवानपछि मैले आदर गर्ने आमा नै हो। र यो देश नेपाल मेरो आमा सरह मानेको छु ।’ सन् १९८० मा पहिलो पटक नेपाली चलचित्र ‘बाँसुरी’ बनाएपछि उनी पूर्णतया नेपाली दर्शकहरुसँग जोडिए तर यो फिल्म नेपालमा चलेन । बम्बईमा यो फिल्म राम्रो चल्यो तर नेपालमा भने यो फिल्म प्रतिबन्धित भयो पञ्चायतकालमा । फिल्ममा ‘हिमाल जलेर ज्वाला भएछ’ भन्ने एउटा गीत थियो । त्यो गीतको शब्दलाई लिएर तात्किालिन श्री ५ को सरकारले यसको सेन्सर नै पास गरेन ।
उनी यस व्यबहारबाट निराश त बने तर उनले नेपालमा चलचित्र बनाउने र निर्देशन गर्न भने छाडेनन् । उनले अहिलेसम्म २२ वटा चलचित्र निर्देशन गरिसकेका छन् । जसमा ‘कुसुमे रुमाल’, ‘अन्याय’, ‘दुई थोपा आँसु’, ‘दक्षिणा’, ‘लाहुरे’,’चिनो’, ‘दर्पण छाँया’ लगाएत छन् । उनलाई अहिले नेपालका लागि एउटा अन्तर्राष्ट्रिय अवार्ड दिलाउन पाए नेपालले उनीप्रति लगाएको गुन तिरिन्थ्यो भन्ने धोको छ । दुईवटा छोरी भावना र पञ्चमी र श्रीमती भारतीसँग उनी धापासीमा बस्छन् । छोरी भावनाले काठमाडौं विश्वविद्यालयबाट ललितकलामा विद्यावारिधि गरिसकेकी छिन् । नेपालको कमाइले नपुगेका बेला उनी अहिले पनि उताबाट पैसा ल्याएर व्यवहार चलाउँछन् । गुरु कमलाकर कार्खनिसले १० वटा नेपाली चलचित्र बनाउनु भनेर दक्षिण दिएका थिए र त्यही अनुसार उनले दशौं चलचित्रको नाम जानेर नै ‘दक्षिणा’ राखेका थिए । ‘दक्षिणा’ चलचित्र बनाएपछि उनी फेरी बम्बई फर्किने तयारीमा थिए । तर ‘दक्षिणा’ चलचित्र हेरेपछि यादव खरेल, चेतन कार्की, प्रकाश थापा लगाएतले अत्यन्त प्रशंसा गरे तर नेपालमा बसेर बाँच्न सक्ने स्थिती नभएको हुनाले तुलसी घिमिरे बम्बई फर्कन चाहन्थे । तर सबैले नेपाल छाडेर नजान आग्रह गरेका थिए । र उनले दुःख सुख नेपालमा नै विताउँछु भनेर आफ्नो यात्रा अगाडी बढाउँदै गए ।
उनी भन्छन्, ‘त्यस बेला देखी नेपाली चलचित्रहरू बनाइरहेको छु । बम्बई गएको भए मैले लाख, करोड त कमाउथें होला तर यत्तिको माया मैले कमाउन सक्दैनथें । मलाई आमा बुबाले टिका लाउँदा आशिर्वाद दिनुहुन्थ्यो, राजाले चिन्ने र प्रजाले मान्ने हुनु भनेर । म दुवै भएँ । राजा वीरेन्द्र र ज्ञानेन्द्र सरकारले ‘हामीलाई तिमीले बनाएको चलचित्र मन पर्छ’ भन्नुभएको दिन आमालाई सुनाएको थिएँ त्यो कुरा । उनी अगाडी थप्छन्, ‘कहिलेकाहीँ यसो सोच्छु, बम्बई हिँड्न तयार भएको मान्छे म यहीँ छु तर मलाई नजा भन्ने मान्छे कति त बितिसक्नुभो । मसँगै ब्याटिङ गर्नेहरू कतिजना आउट भइसक्नुभो म भने अझै पहिलो इनिङ नै खेलिरहेको छु । अब आउने ‘दर्पण छायाँ २’ मेरो २२ औं चलचित्र हो । नीर शाह दाइले भन्नुहुन्थ्यो, ‘एउटा निर्देशकले २५ वटा चलचित्र निर्देशन गर्यो भने मोक्ष पाउँछ रे । अब ३ वटा चलचित्र बनाएपछि मैले पनि मोक्ष पाउँछु होला ।’