काठमाडौंँ : फिल्म ‘दैव संजोग’ मा समावेश चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ । चैत्रको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा यो गीतलाई समावेश गरिएको छ । पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । नयाँ भर्सनमा भने शम्भुजित र गायिका रचना रिमालले स्वर भरेका छन् । गीतको भिडियोलाई ४ दिन लगाएर खिचिएको छ । जरसिंहपौवामा सेट लगाएर हिमालको काखमा यो गीतको छायांकन गरिएको हो ।
गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । यो गीतमा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिषा भट्टराइले नृत्य गरेका छन् ।
एक्सन र लभस्टोरी समावेश फिल्म ‘नरसिंहाः अवतार’ ले दर्शकलाई विविध अनुभव दिने अपेक्षा गरिएको छ । ८ वर्षपछि पर्दामा फर्किरहेका राजेश हमालको कम्ब्याक कस्तो हुनेछ र दर्शकहरूले कसरी स्वागत गर्छन् भन्ने चासो निर्माण टिमलाई छ । दर्शकले हमालको पुनरागमनलाई कत्तिको रुचाउँछन् त्यो भने फिल्म रिलिजपछि नै थाहा हुनेछ ।