नेपालकी पहिलो महिला निर्देशक तथा चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठले हिन्दी चलचित्र निर्देशन गर्ने भएकी छिन् । सोमबार राजधानीमा उनले निर्देशन गर्ने चलचित्र ‘चक्र’ को निर्माण घोषणा गरिएको छ । नेपाली र हिन्दी दुवै भाषिय समुदायमा खिचिने यो चलचित्रको ७५ प्रतिशत भारतको बिहारमा र २५ प्रतिशत नेपालमा छायाँकन हुनेछ । चलचित्रको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल तथा भारतका चलचित्रकर्मीहरु सहभागी थिए ।
निर्माणमा समेत सहकार्य गरेकी निर्देशक सुचित्राले हिन्दी चलचित्र निर्देशन गर्न लागेपछि चलचित्रका लागि सबै प्राविधिकहरु नेपालकै रहने जानकारी दिइन । उनले नेपाली चलचित्र बजारमा बढ्दो हिन्दी चलचित्रको प्रभाव नियाल्दै हिन्दी भाषाको चलचित्र निर्देशन गर्न मन लागेकोले पनि ‘चक्र’ निर्देशन गर्न लागेको खुलाएकी छिन् । खबरका अनुसार चलचित्र चक्रमा नेपाली र भारतीय दुबै कलाकारहरुको मुख्य भुमिका रहनेछ । चलचित्रका निर्माता अनवर राज हुन भने कथा शशि कुमारको रहनेछ । तिहारको लक्ष्मीपुजाको दिनबाट फ्लोरमा जाने बताइएको यो चलचित्रका लागि अहिले कलाकारहरु छनौट भइरहेको छ । भारतीय १२ करोडमा निर्माण हुने यो चलचित्र सफल भए १ प्रतिशत शेयर चलचित्र समाजलाई उपलब्ध गराउने पनि कार्यक्रममा चलचित्रका निर्माता अनवरले उद्घोष गरेका छन् । ‘प्रेमयुद्ध’, ‘को कसको’ नेपाली चलचित्र निर्देशन गरिसकेकी सुचित्राले लामो समय पछि निर्देशनमा हात हालेकी हुन् । सुचित्रालाई यो चलचित्र निर्देशनमा राजेश राजले सहयोग गर्नेछन् ।