अपराधको आरोपमा मानिस पक्राउ पर्नु स्वाभाविक हो । विश्वमा यदाकदा आपराधिक घटनाको आरोपमा जनावरलाई पनि पक्राउ गरिएको पाइन्छ । तर रुखलाई गिरफ्तार गरिएको घटना भने आफैंमा अनौठो हो ।
पाकिस्तानमा एउटा रुख बन्दी जीवन बिताइरहेको छ । झण्डै १२ दशकदेखि यो रुख बन्दी बनेको हो ।
खैबर एजेन्सीको लान्डी कोटल सैन्य शिविरमा रहेको यो रुखलाई फलामे साङ्लोले बाँधेर राखिएको छ ।
ब्रिटिश साम्राज्यकै समयमा यो रुखलाई एक सैनिक कमाण्डरले गिरफ्तार गराएका हुन् । समाचार एजेन्सीहरुका अनुसार मदिरापान गरेर आइरहेका ती ब्रिटिश सैनिक कमाण्डरले उक्त रुख आफूतिर आइरहेको महसुस गर्दै आफ्ना सैनिकलाई उक्त रुख गिरफ्तार गर्न आदेश दिएका थिए ।
त्यसपछि ब्रिटिश सैनिकको टोलीले उक्त रुखलाई गिरफ्तार गर्दै फलामे साङ्लोले बाँधेको हो ।