प्रशासनिक सुधार ऐन निर्माणका क्रममा मैले तीनवटा सूत्रलाई मुख्य प्राथमिकता दिएको थिएँ । ती तीन सूत्रलाई अपनाउने हो भने नेपाल संसारकै समृद्ध मुलुक बन्छ भन्ने मेरो विश्वास छ । ती हुन, टाइम पङ्चुवालिटी, श्रम बैंक र हुण्डी रोक्का । हुण्डीले त देशलाई कंगाल नै बनाइसक्यो । हेर्नुस, त भर्खरै प्रचण्डजीले लुटेको ११ करोड आएको छ, त्यसलाई कसरी निकाल्ने भनेर प्रधानमन्त्री हुनासाथ प्रचण्डजी चलखेल गर्न थाल्नुभएको छ । लुटेको धन र मागेको धनले देश बन्दैन । यसले त देशको आर्थिक अवस्था बर्बादै पार्छ । पूर्व मन्त्री लालबाबु पण्डितको खरो अनुभव :
टाइम पंचुवालिटी : पहिलो सूत्र थियो, ‘टाइम पंचुवालिटी’ अर्थात समयको महत्व बुझेर ठीक समयमा ठीक काम गर्ने । जापान घुम्न गएका थियौं , एक पटक जापानी प्रधानमन्त्री नेपालीहरु बसेको ठाउँमा घुम्दै आए । उनका साथमा हामीलाई सहयोग गर्ने भनेर एक जना जापानी प्रतिनिधि खटाइएका थिए । ती प्रतिनिधि त नेपालमा पाँच वर्ष राजदुत भइसकेका रहेछन् । उनी भन्दैथिए, ‘हामी कहाँ एक मिनेट प्रार्थना गरिन्छ, त्यसपछि ड्यूटी प्रमुख हो । तपाईहरुकहाँ चाहिँ कामै नगरी ठग्ने प्रवृत्ती छ ।’
हामीकहाँ कर्मचारीको ड्यूटी भनेको जहिले पनि ‘भोलि भोलि’ मात्र । अनि ‘यो नेपाली समय हो’ भनेर भन्ने गरिन्छ । जापानको रेल पनि १८ सेकेण्ड ढिलो/चाँडो मात्र हुन्छ । हामी कहाँ कुनै कार्यक्रम दुई/तीन घण्टा ढिलो सुरु भयो भने त्यसलाइै नेपाली समय मानेर स्वाभाविक रुपमा लिने चलन छ । हामी बिग्रिएको त्यसैबाट हो । हामीकहाँ सबै कुरा समयमै सुरु गर्ने र समयमा नै अन्त गर्ने चलन नै भएन । अझ, जो लिडर हुन्छ उसको सोचाई ‘जति ढिलो गयो त्यति ठूलो मान्छे होइन्छ’ भन्ने छ । अनि देश कसरी बन्छ ? एक पटक जापान गएको बेलामा सभामुख तारानाथ रानाभाटजीले बुलेट ट्रेनको समय भइसक्यो, लाइनमा बसिसक्नु पर्ने, तर ‘लुगा नै लगाएको छैन’ भन्दै हुनुहुन्थ्यो । मैले ‘यो जापान हो, नेपाल होइन’ भनेको थिएँ ।
हामीले जापानजस्तो विकास गर्ने हो भने त्यहाँको जस्तो समयको महत्व बुझ्ने र समयमै सबै काम फत्ते गर्ने संस्कार बसाल्न अब ढिला गर्नु हुँदैन । श्रम बैंकको अवधारणा : श्रम बैंकको अवधारण मैले आफुले नै तयार गरेको हो । जो अहिले संसदमा छ । त्यसलाई आठ महिनासम्म त डा. रामशरण महतले आफ्नो ड्रयरमा राख्नुभयो । विदेशिएका युवालाई स्वदेश फर्काउने पहिलो पाइला हो, श्रम बैंकको अवधारणा । यदि श्रम बैंक स्थापना भयो भने अहिले मेनपावरहरुले कुनै कुरा ढाँट्न छल्न पाउँदैनन् । कुनै व्यक्ति कामको निम्ति बाहिर जाँदा सोही बैंकमा निवेदन पेश गर्नुपर्ने र एक पटकलाई उसको नाममा लोन दिइने परीपाटी बसाल्न सकिन्छ । त्यहाँ पुगेको दुई महिनासम्मको पैसा अग्रिम यहाँबाट दिएर पठाउने । त्यसो भएमा ऋणको लागि घर/घडेरी जग्गा अथवा चर्को व्याज दरको टन्टा खत्तम हुन्छ ।
खासगरेर खाडी मुलुक जानेले त्यहि बैंकमार्फत रेमिट्यान्स पठाउँछ र परिवारलाई दिन्छ । वार्षिक व्याज बैंकले काट्छ । बैंकसँग जाने बेलामै आफूले जति पैसा बचाउने हो त्यसमा थपेर नेपालमा ऋण दिने भनेर पहिला नै सम्झौता हुन्छ । जसले गर्दा उसको कार्यक्षमता बढ्छ र नयाँ आइडिया सिक्न खोज्छ । त्यो राष्ट्रको निम्ति हुन्छ । अहिले ८८ प्रतिशत जति रेमिटेन्स रकम ठूलठूला मोबाइल, टिभी किन्न र मोजमस्ती गर्नमै खर्च भइरहेको छ । कमसेकम त्यसलाई ५० प्रतिशतमा झारियो भने त्यो उत्पादनमूलक काममा जानसक्छ । रेमिटेन्सको ६२ प्रतिशत चाहि हंङकङमा जम्मा हुन्थ्यो । त्यो जम्मै तस्करहरुले जम्मा गर्थे । त्यो पैसा सिधै बैंकमा भएपछि ठूला परियोजनामा लगानी गर्न मिल्छ । हामीले अरुसँग पैसा खोज्नु पर्दैन । सामाजिक विकृति पनि कम हुने थियो । विदेशबाट पठाएको पैसामा मोज गर्ने प्रवृत्तिमा कमी आउनेथियो । उहीबाट बैंकमै डिपोजिट राखिदियो भने त टन्टै साफ हुन्छ ।
हटाउँ हुण्डी : तेस्रो अवधारण के हो भने सबै हुण्डीलाई बन्द गर्ने । अहिले ११ करोड आएको छ नि, प्रचण्डजीले लुटेको सम्पति । प्रधानमन्त्री भएपछि उहाँले निर्देशन दिनु भएको छ, त्यो पैसा कसरी निकाल्ने भनेर । त्यो भनेको देशका जनताको लुटिएको पैसा हो । मेहनत गरेर कमाएको पैसा होइन । त्यसैगरी ६ जना पूर्व ‘राष्ट्र सेवक’सँग नेपाल सरकारले ६ अर्व रुपैया लिन बाँकी छ । उनीहरु अमेरीकामा छन् । उनीहरु पदमा रहँदा नै अमेरीका गएका थिए, उतै ‘सिफ्ट’ भएर बसे । अब एकएक जनासँग एक/एक अर्व रुपैयाँ असुल्न छ राष्ट्रले । मैले ६ जनाको त उदाहरण मात्र दिएको हुँ । त्यहाँ अरु पनि त्यस्ता छन् । देशको सम्पत्ती लुटेर हुण्डीमार्फत विदेश पठाउने अनि छोराले कमाएको भनेर फिर्ता ल्याउने प्रवृत्ति रोक्नुपर्छ । त्यसलाई नरोक्ने हो भने देश कंगाल हुन्छ ।
मागेर बन्दैन देश : यसरी मैले तीनवटा अवधारणा अघि सारेको थिएँ । त्यसले सकारात्मक प्रभाव पारेको मैले पाएको छु । श्रम बैंक सम्बन्धी विधेयक अहिले संसदमा पुगेको छ । पास गर्छन् गर्दैनन्, हेरौं । त्यो मैले सम्हालेको मन्त्रालय अन्तर्गत होइन । पहिले मैले नै ‘म यो बजेट पास हुन दिन्न, नीति तथा कार्यक्रम पास हुन दिन्न’ भनेर अडान राखेपछि दुई वर्षसम्म नीति तथा कार्यक्रममा श्रम बैंकको अवधारण आएको छ । मैले हुण्डी रोक्नेमा पनि भरोसा दिलाएको थिएँ । त्यो पनि पठाएको छ । यो सबैलाई रोक्नु पर्छ । अवैध सम्पती नेपालमा पनि नआओस नेपालबाट पनि बाहिर नजाओस । यसले गर्दा मुलुकको समृद्धि हुन्छ ।
मैले यसबारेमा बिराटनगरमा आधाघण्टासम्म उद्योगी व्यापारीहरुमाझ बोलें । मैले भनेको थिएँ, ‘मैले राखेको अवधारणामा कुनै प्रश्न छ भने तपाईहरुले उठाउनुहोस् । तर निराश नहुनुहोस् । भाग्ने काम नगर्नुहोस् । निराश हुनुभयो भने तपाई केही गर्न सक्नुहुन्न र भाग्न मात्र थाल्नु भयो भने केही हुँदैन । मागेर देश बन्दैन, भागेर समस्या समाधान हुँदैन ।’
उद्यमीका भेलामा धेरैले मसँग प्रश्न सोधेका थिए, ‘अब के हुन्छ ?’ मैले उत्तर दिएको थिएँ, ‘तपाईँ आफूभित्र के बोक्नुहुन्छ ? सकारात्मक कुरा बोक्नु भएको छ कि नकारात्मक कुरा बोक्नु भएको छ ? सकारात्मक सोच बोक्नु भएको छ भने तपाईसँग उत्तर छ । नकारात्मक सोच बोक्नु भएको छ भने अरुसँग मात्र उत्तरको आशा नगर्नुहोस् ।’
(सरल पत्रिकासँग वार्तामा आधारित)