हास्यकलाकारहरुले अभिनय गरेको चलचित्र ‘छक्का पन्जा’ अहिले देशव्यापी प्रदर्शन भइरहेको छ । शुक्रबारबाट देशव्यापी प्रदर्शनमा उत्रिएको ‘छक्का पन्जा’ हेर्न अहिले नेपालका प्रत्येक सिनेमा घरहरुमा दर्शकहरुको बाढी नै लागेको छ । हिजो शनिबार चलचित्र ‘छक्का पन्जा’ हेर्न हल पुगेका धेरैले टिकटसम्म नपाएको काठमाण्डौं वितरक गोपाल कायस्थले जानकारी दिएका छन् । चलचित्र ‘छक्का पन्जा’ले शुक्रबार र शनिबार गरि करोडभन्दा बढीको ग्रस विजनेश गरेको पनि वितरक कायस्थले बताए ।
यो कमाई प्रदर्शनमा आएका ८० हलहरुबाट छक्का पन्जाले गरेको हो । खबरका अनुसार शनिबार चलचित्र ‘छक्का पञ्जा’ ले काठमाडौंको चावाहिलस्थित गोपिकृष्ण मुभिजमा मध्यान्ह्को शोमा ६ वटा हाउसफूल हुँदा पनि दर्शकको चाप हलको प्राङ्गणमा थामी सक्नु थिएन । काठमाण्डौ बाहिरका पोखरा, चितवन, हेटौडा, धरान, इटहरी, विर्तामोड, दमकमा समेत दर्शकको चाप उच्च देखियो । शनिबार चलचित्रका कलाकार हल–हलमा पुगेका थिए । निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरी, नायिका प्रियंका कार्की हल–हलमा पुगेका थिए । नवाजुद्दिन सिद्दिकी अभिनीत ‘फ्रिकी अली’ र कट्रिना कैफ–सिद्धार्थ मल्होत्रा अभिनीत ‘बार बार देखो’ लाई समेत नेपाली फिल्म ‘छक्का पञ्जा’ ले रिप्लेस गरेको छ ।
खबरका अनुसार काठमाण्डौका मल्टिप्लेक्समा समेत हाउसफूल भनेर लेखिएका बोर्ड टाँसिएको थियो । यो चलचित्रमा शिवहरी पौडेल, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, नम्रता सापकोटा, वर्षा राउत लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई पहिलो पटक हास्यकलाकार दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।
त्यस्तै चलचित्रका नायक एवं निर्माता दीपकराज गिरीले माग्ने बूढोले शनिबार ‘छक्का पन्जा’ संगै बसेर सिनेमा हेरेको फेसबुकमार्फत जानकारी दिएका छन् । माग्ने बूढोको स्वास्थ्यमा सुधार भइरहेको भन्दै दीपकराजले केहि गर्नु परे आफुहरु पछि नहट्ने पनि बताएका छन् । खबरका अनुसार माग्ने बूढा केही महिनादेखी डिप्रेसनको सिकार भएका छन् । उनको अबस्था विस्तारै गम्भिर हुँदै गएको केही दिनदेखी विभिन्न नेपाली सञ्चारमाध्यमहरुले समाचार प्रकाशन गरिरहेका छन् ।