अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँग खासै राम्रो सम्बन्ध रहेन। चीन भ्रमणका बेला केरुङ- काठमाडौँ रेलमार्गबारे ओलीले कुरा राखे। सम्भाव्यता अध्ययनको काम पनि सुरु हुने सहमति भएपछि यसको निकै प्रचार भयो। मानौँ रेल काठमाडौँतिर गुडिसक्यो।
भएको एउटा जनकपुर-जयनगर रेल सेवा पनि बन्द भएको नेपाल जस्तो देशका लागि ‘रेल सपना’ निकै बिक्यो। के अब यही ‘रेल सपना’ क्यास गर्ने प्रयास भारतले गर्दैछ?
भारतको रेल मन्त्रालयको भेरिफाइड ट्विटर अकाउन्टले ओलीलाई विस्थापन गरी प्रधानमन्त्रीको कुर्सीमा बसेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण सुरु हुने दिन बिहान एउटा ट्विट गर्यो।
भारतीय पत्रिका द हिन्दुमा छापिएको समाचारको लिङ्कसहितको त्यो ट्विटमा लेखिएको थियो- नेपालमा रेलमार्ग बनाउन भारतले सहयोग गर्न सक्ने।
समाचारमा नेपालको पूर्वपश्चिम रेलमार्ग बनाउन भारतले नेपालका प्रधानमन्त्री प्रचण्डलाई सहयोगको अफर गर्न सक्ने उल्लेख छ। त्यसो कारण पनि समाचारको पहिलो लाइनमै खुलाइएको छ- टु रिगेन ग्राउन्ड लस्ट रिसेन्टली टु चाइना।
प्रधानमन्त्री प्रचण्डले पनि भारत भ्रमणको पूर्वसन्ध्यामा बुधबार संसदलाई सम्बोधन गर्दै रेल सम्झौता हुने जानकारी दिएका थिए। उनले भनेका थिए- ‘बिशाखापट्नम बन्दरगाहबाट नेपालका नाकासम्म रेल सेवा सञ्चालनका लागि दुई देशबीच विद्यमान रेल सेवा सम्झौतालाई संशोधन गर्ने सम्वन्धी पत्रहरुको आदान प्रदान गर्ने कार्य सम्पन्न हुनेछ।’
भारतले घोषित रुपमा नस्वीकारेको तर भारतले गराएको भनेर घाम झैँ छर्लङ तथ्य नाकाबन्दीका कारण भारत स्वयंलाई पनि नकारात्मक प्रभाव परेको छ। भारतविरोधी सेन्टिमेन्ट नेपालमा झन् बढेको छ। यसलाई सामान्य बनाउने प्रयासमा भारत छ। यसका लागि ‘रेल सपना’ जस्तो हतियार भारतका लागि प्रभावकारी साबित हुनसक्छ।
समाचारमा भारतीय रेलवेका एक नाम नखुलाइएका एक अधिकारीलाई उद्धृत गर्दै दुई देशबीच रेलमार्गको विषयमा यसअघि पनि कुरा भए पनि अहिले आर्थिक विषयमा कुरा भइरहेको बताए।
‘योजना यो प्रोजेक्टलाई तुरुन्तै अगाडि बढाउने भन्नेछ। यो ठूलो विकास योजना हो’, प्रचण्डको भ्रमणको तयारीमा संलग्न ती अधिकारीले भनेका छन्।
त्यसो त भारतको रेल बजेटमार्फत् भारतका रेलमन्त्री सुरेश प्रभुले उत्तर प्रदेशको बरहनीबाट काठमाडौँसम्मको रेलका लागि सर्वेक्षण गर्न बजेट नछुट्याएको होइन। तर त्यसको रकम भने हाँस उठ्दो छ- मात्र मात्र १६ लाख भारु (साढे २५ लाख नेपाली रुपैयाँ) ।
शायद् यो सपना ‘नबिक्ने’ देखेरै यस पटक नेपालकै पूर्वपश्चिम रेलमार्गमा सहयोगको घोषणा भारतले गर्न खोजेको हुनसक्छ। -पहिलोपोस्ट