हेटौंडा चुन उद्योगबाट व्यवसायमा प्रवेश गरेका अजेय सुमार्गी छोटो अवधिमा अर्बौ कमाउने ब्यवसायीको सुचीमा पर्छन्। २०२८ सालमा उद्योग स्थापना भए पनि २०५० सालबाट अजेयले साझेदारीमा चुन उद्योग खोलेका हुन्।
पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा हेल्लो मोबाइलमा छिरेका अजेयको विदेशबाट आएको तीन अर्ब रुपैयाँ राष्ट्र बैंकले फ्रिज गरेको छ। उनै सुमार्गीका विषयमा बुधबार एउटा पुस्तक सार्वजनिक भएको छ। सुमार्गीको जीवनयात्रालाई पुस्तकमा समेटिएको छ तर यो किताब उनको आत्मकथा भने होइन।
सुमार्गीको खास व्यवसायिक यात्रा सुरु भएको २०६० साल यताको विवरण भने पुस्तकमा समेटिएको छैन्। सामान्य व्यवसायिक परिवारमा जन्मिएका अजेयलाई पूर्वराजा ज्ञानेन्द्रदेखि प्रचण्डसम्म जोडिन्छ। तर पुस्तकमा उनीहरुसँगको सम्वन्धका विषयमा पनि खास खुलासा गरिएको छैन्। पुस्तकमा एउटा सानो अंश छ, जहाँ पूर्व राजा ज्ञानेन्द्र शाह, चर्चित र विवादित गुरु स्वामी कमलनयनाचार्य र अजेयको सम्वन्धको। पुस्तकको त्यही अंश यहाँ प्रस्तुत गरिएको छ।
तर उनले कसरी कमाए अर्वौं रुपैयाँ बिजमाण्डूको एक्सक्लुसिभ स्टोरी यहाँ पढ्नुहोस्
२०५९ तिरको कुरा हो गीता दिदीले निकै कर गरेपछि भेटेको हो मैले। रुपचन्द्र विष्टको तीन पुस्तासँग सम्बन्ध कायम भएको थियो, परिवारका सदस्यहरुसँग राम्रै आउजाउ थियो, सबैको आ-आफ्नै योग्यता र क्षमता भएका कारण प्रकाशमा आएका हुन्। गुणचन्द्र पनि आफ्नै क्षमताले यहाँसम्म आइपुगेका छन्, त्यस्तै गीता दिदी र अन्य परिवारका सदस्यहरु पनि छन्। हुन सक्छ रुपचन्द्रका र थाहाका कारण केहि सहजता अवश्य भएको होला गरेको काम र व्यवसाय क्षेत्रमा तर गुरुले कहिल्यै कसैलाई सिफारिस गरेको मलाई थाहा छैन।
थाहा लेखेको मोटर पनि आफैंमा ब्राण्ड भइसक्यो, हेर्ने मान्ने र गुन्ने धारणालाई विस्तृत बनाइदिन्छ। यही क्रममा गुरु कमलयनाचार्य धार्मिक अनुष्ठानका लागि हेटौंडा आउनुभएको समय थियो, गितादिदीको आग्रह निकै थियो, परामर्थको काम गर्ने सबैप्रति आदर पहिलेदेखि नै थियो नै तर स्वामीजीलाई मनभित्रबाट खुलेर स्वागत गरिहालौ भन्ने भएको थिएन।
वस्तुवादी चिन्तनमा धेरै समय बिताएकोले पनि होला त्यही चिन्तन मननमा लिन थिएँ म। स्वामीजीका लागि नयाँ चुलो, नयाँ ओछ्यान, भाँडाकुडा नयाँ, नयाँ आसन प्रयोगका सबै समान नयाँ चाहीने रहेछ। फेरि आरती पनि गर्नुपर्ने। हरिकिर्तनवालाहरुको शरणमा पुगेर त्यो पनि प्रबन्ध भयो र उहाँको आगमन घरमा भयो। उमेरले दुई वर्ष कान्छा नै हुनुहुन्थ्यो स्वामी तर घरमा आएपछि बूढा, जवान, महिला, पुरुष धेरै जना जम्मा भएका थिए, दर्शनका लागि छलफलका लागि। विस्मित त त्यसबेला भएँ म जब उहाँले जम्मा भएका हरेकको नाममा सोध्नुभयो, परिवारका बारेमा सोध्नुभयो, व्यवसाय इलम बारेमा प्रश्न गर्नुभयो। कुराकानीका क्रममा उहाँले राष्ट्रियताका बारेमा बोल्नुभएको थियो, बुद्ध भारतलाई लग्न दिने त? नेपाली माटोको धर्म संस्कृतिको रक्षाका लागि आन्दोलन गर्नुपर्ने आवाज उठाउनु पर्ने बताउनुभयो। अतिथीहरु बिदा हुनेबेलामा फल प्रसाद हातमा थमाउनु हुन्थ्यो स्वामीजीले र हरेकका नाम र पहिले परिचयका क्रममा भएका कुराकानी सबै उत्खनन् गरी केलाइ छोराछोरीको स्वास्थ्य, अध्ययनका बारेमा किटेरै भन्नुहुन्थ्यो।
‘अलिकति प्रसाद उनीहरुलाई पनि बाँड्दिनु ठिक हुन्छ’ भन्नुहुन्थ्यो। दुई चार जना भए पो एउटा कुरा त्यहाँ त तीन सयको संख्यामा जति मान्छेहरु भेला भएका थिए, सबैको नामको सम्झना,कामको सम्झना र उनीहरुले उल्लेख नगरेको तथ्यका बारेमा उल्लेख गरी हातमा प्रसाद राखीदिनु हुन्थ्यो। त्यो बडो आश्चर्यको घटना थियो। मेरो स्मरण क्षमताभन्दा बढि रहेको अनुभव मलाई तत्काल भयो, उदाहरण मेरा आँखासामु छर्लग थियो। त्यसपछि अर्को घटना छ, फ्याक्ट्री घुम्ने क्रममा। मारवाडीहरु लक्ष्मीको उपासकलाई आफ्नो कार्यक्षेत्रमा लग्न कस्तो मरिहत्ते गर्छन्, हामीले किन नलग्ने भन्ने कुरा आएपछि मैले स्वामीज्युलाई भएको उद्योगमा लगेर विस्तार लगाएँ। वरपरका अन्य स्थानहरुमा पनि घुमाएँ।
उद्योग घुम्ने क्रममा स्वामीज्युले एउटा मोटरलाई हात लगाउनुभएको थियो, दुई सय हर्सपावरको तीनसय पचास किलोभन्दा धेरै तार भएको ५०० किलोजतिको त्यो यन्त्रमा हात लगाएर भन्नुभयो, ‘निकै पुरानो भएर पनि काम गरिरहेको छ, सानोतिनो मर्मत गरेपछि चलीहाल्छ।’ मेसीनको बारेमा ज्ञान नै नभएको मान्छेले औपचारिकता साँध्न भनेको जस्तो लाग्यो र हामीले त्यो घटनालाई महत्व दिएनौ। तर निस्केको केही क्षणमै फ्याक्ट्रीबाट मेसीन बिग्रयो भनेर खबर आयो, म त झसंग पो भएँ, के चाला हो? स्वामीले छोएर भनेको केही घन्टा मात्र बितेको छ मेसीन बिग्रन गयो। मनको चिसोलाई आफैंसँग राखी मर्मतका लागि कसरी पठाउने होला भनी सोचीरहेको थिएँ। घरमा स्वामीजी बस्ने, खाने सरसमानको प्रबन्ध पनि गर्नुथियो। त्यसमाथि मेसीन बिग्रेको छ। स्वामीजी सामान्य भावमा रहनुभएको थियो।
कुनै बदलाव आएको थिएन अनुहारमा न त व्यवहारमा नै। सौम्य भइ बसी रहनु भएको थियो। साँझपख मैले स्टाफहरुलाई ‘केहि गरी यहीं बनाउन सकिन्छ भने खोलेर हेर अनि धेरै नै ड्यामेज भएको भए अन्त लिएर जाउला, अहिलेलाई एकचोटी खोलेर हेर।’ भनी अह्राएँ। बाहिरको तार जलेको रहेछ, स्टाफहरुको राती अबेरसम्म गरेको मेहेनतले काम त गर्योक तर मेसीनले लोड लिन सक्छ कि सक्दैन भन्ने डर थियो। विस्तारै विस्तारै गरेर लोड दिइ हेर कस्तो हुन्छ भनेको त मेसिनले फूल लोड लियो र उही गतीमा काम गर्न थाल्यो। चैनको श्वास फेरेर रात बित्यो, बिहान स्वामीजीसँग यज्ञको तयारीका विषयमा कुरा हुन्छ, संयोजनमा गर्ने निधो भयो। कुरा भइरहेको थियो, स्वामीजीले ‘चल्यो है त?’ भनी ढ्याप्प ढाडमा हान्नुभयो, म तिनछक परेर हेरिरहें। यो लिला हो कि कृपा हो बुझी नसक्नु थियो। उहाँले भन्नुभएको थियो, ‘तपाईंको व्यक्तित्वका हिसाबले हेटौंडा निकै सानो ठाउँ हो, अब काठमाडौं जानुपर्यो । काम त गर्नु भएको छ तर उचाइ अनुसारको काम भएन।’ के गर्ने त अब ? भन्ने मेरो जिज्ञासामा उहाँ मीठो हाँसेर भन्नुभयो, ‘जाने काठमाडौं ।’
अर्कोदिन बिहानमा परिवारको पूजा-आजामा स्वामीजी सरिक हुनुभयो। बच्चाहरुलाई प्रसाद बाँड्नुभयो र आशीवचन पनि दिनुभयो। हेटौंडाको यज्ञमा सबैले मेरो संयोजकत्वका लागि आवाज उठाए, स्वामीजीको पनि यही चाहना थियो। मैले आर्थिक अपराध साथीहरुबाट नहुने हो भने जिम्मेवारी लिन तयार छु भने, सबैको एउटै स्वर आयो। मैले लिड गरे प्रबन्धका लागि साथीहरुको सहयोग लिएर फत्ते गरीयो हातमा लिइएको कामलाई। हाम्रो परिवारमा धार्मिक आस्था प्रवृति त रही आएको कुरा हो। समाजले हजुरबुबा पण्डित शशिधरको समयदेखि निकै मान्दै आएको हो, उहाँको जति सक्रियता हाम्रो नभए पनि धार्मिक कार्यहरुमा सक्ने सहयोग गरी आएका थियौं।
मेरो जन्म कुण्डली हेरेर २०४६/४७ सालतिर एकजना नामी ज्योतिषले केही समयपछि सुमार्गी परिवारमा एकजना धर्माचार्यको आगमन हुनेछ र उहाँलाई संरक्षक मानेर उहाँको संरक्षकत्व लिने योगको रहस्योद्घाटन गर्नुभएको थियो। मिति नै किटान गरेर नोट लेखिजानु भएको थियो। आस्थाको शृंखलाको रहस्य र संकेत बुझ्दै गएपछि प्रारम्भको जालोमा उनिएको अनुभव भयो।
देशभरीका सबै यज्ञ तयारी प्रबन्ध समितिका संयोजकहरुको सहभागीतामा फूलपाती बिसर्जनको भव्य कार्यक्रम गजेन्द्रमोक्ष धाममा भएको थियो। २०६० वैशाख ११ गतेको दिन थियो त्यो, स्वामीज्यूले बिहानको आरतीमा सरिक हुनुहोला भन्ने आदेश दिनुभयो। साना ठूला सबै कुराको व्यवस्थापनमा मेरो नाम नै प्रमुखतामा आएपछि निकै भार महसुस भएको थियो, तर स्वामीज्यूको आदेश मेरो निम्ति शिरोधार्य गर्नुको विकल्प थिएन, बिहान बोलाएकै समयमा आरतीका लागि नदी किनारामा पुगें।
अलौकिंक रहस्यमयी अवतार यी आँखाले देखे, त्रिवेणीको काखमा। गजेन्द्रमोक्षधाममा स्वामी डुंगामा चढेर आरती गरिरहुनभएको थियो, चारैतिर आरतीको उज्यालो बगीरहेको, नदिभरी फैलिएको थियो, हात जोडेर प्रार्थनामा सामेल रहँदा साक्षात लक्ष्मीको आकृति जलकमलबाट उठेर आएको थियो। देवीको अलौकिंक दर्शन पाएर धन्य भएको थिएँ। देविदर्शन अस्मितामा अनुदित भयो म हेरेको हेर्यै भएँ। स्वामीजीलाई यस बारेमा बिन्ती गर्दा, उहाँ सौम्य भइ माटोको टीका लगाइदिदै भन्नुभयो,
‘तयारी भइरहेको छ माथिबाट अब तल तपाईंले गर्नुपर्यो। माथिबाट वर्षने कृपा थाप्नलाई तयार रहनुहोस् । सुमार्गीजी तपाईंकहाँ धेरै ठूलो सामर्थ्य र शक्ति आउँदै छ । यो नेपाल आमाको माटो कहिल्यै नबिर्सनुहोला।’
अचम्मको घटनाको साक्षी भएर हामी सबै धर्मसभामा सरिक भयौं । देशभरी गरिएका १०८ महायज्ञ तयारी समितिका सबै क्षेत्र विशेषका प्रतिनिधिहरु जम्मा भएका थिए। विशाल सभा थियो त्यो विशाल जनसहभागिता थियो। त्यति धेरै मान्छेको सहभागिता पनि व्यवस्थापन तवरले अचम्म शान्त थियो। खानाको उचित प्रबन्ध भइरहेको थिएन, भक्तजनहरु यताउती सुतिरहेका देखिन्थे।
खानाको सहज सर्वसुलभता हुन सकेको थिएन तर कसैले खान पाएनौ भनी आएका पनि थिएनन्। लाखौं मान्छेको व्यवस्थापन गर्न व्यवसायिक समूहलाई हम्मे हम्मे पर्थ्यो होला यहाँ ती कुनै व्यवसायीहरुको संकेत छैन र पनि कसैले यो भएन त्यो भएन भनी आवाज र रोष प्रकट गरेको सुनिएन। यस परिदृश्यमा पाएको समान कुरा थियो, सबैजना ‘दिउभाव’ बोकेर धर्मसभामा आएका थिए। जहाँ ‘लिउभाव’ हुन्छ त्यहाँ समस्या आइहाल्छ, सानो कार्यक्रम होस् वा ठूलो। सहभागी सबैजना भित्रको दिउभावले गर्दा नै कसैले यो भएन त्यो भएन आवाज उठ्ने कुराले ठाउँ पाएन। कार्यक्रममा तत्कालिन राजा ज्ञानेन्द्रको सवारी भएको थियो। स्वामीज्यूको आसनभन्दा तल बसेका राजालाई सुनको थालमा कनिका दान दिँदै ठाडो रुपमा दिएको अभिव्यक्ति सुनेपछि मञ्च बनाउन साथीभाइ, परिवार र दलबलका साथ हेटौंडाबाट गएको मेरो शरीरको तन्तु तरगिंत भएको थियो र खुकुलो पनि भएको थियो। देशको प्रमुखलाई, ‘राजन त्यत्रो नरसंहार भएको घरमा तिमी कसरी बस्न सक्छौ? देशमा भइरहेको यो व्यथितीलाई किन सम्बोधन गर्न सकेका छैनौ?’ र साहसको छाती तन्कन नदिने? के यही हो राजाको र जनताको सम्बन्ध जाग राजन् जाग राजन्, तिमीले अहिले गर्नलाई अबेला गर्यौर भने पछि तिमीलाई कृपा आउन अबेला भइसक्छ तसर्थ समात देशबासीको अनुरोध आफैंले र परिवर्तन गर दिशा र दिशा सामर्थ्यले भ्याएसम्म। अमेरिकाले विश्वभरी तताएको तातो हावामा मात्तिने होइन उसका आफ्ना स्वार्थ छन्, उद्देश्य प्राप्तिका लागि हिँडिरहेको छ, भारतको आफ्नै दाउ छ, हिन्दुस्तान भनेर के गर्ने हिन्दू राज्य नै खाउला जस्तो गरेर मुख बहाएर बसेको छ, चीनले नेपाल माथि गरेको चियो तिब्बतको होइन अरु नै केही थोक छ, सबै मिलेर राष्ट्र र राष्ट्रियताको रक्षार्थ जाग्नुपर्ने बेला भएको छ। धुन्धकारी गैरजिम्मेवारी आचारव्यवहार हराएको।’ यस्तै यस्तै शैलीमा स्वामीज्यूले बोलेपछि अब के होला भन्ने मलाई भयो। बोलेका सबै कुरा जायज समयकाल लक्षित प्राशंगिक विषय नै थिए तर राजाको अघिल्तीर त्यति चर्को बोलीहाल्नु पर्ने थिएन कि भन्ने मेरो मनसाय थियो। साँझ घर फर्कदै गर्दा फोनमा स्वामीज्यूसँग कुरा भयो।
राजाको शासन मध्यरापमा भएका बेलाका कटाक्षपूर्ण वाणीका कारण स्वामीको सुरक्षातर्फ म सोझिएँ, के आड भरोसाले बोल्नुभएको होला? सुरक्षाको प्रत्याभुती के छ त जिज्ञासा उहाँका अगाडि राखे। उहाँ भन्नुहुन्छ, ‘अजेयबाबु, कहाँ पुग्नुभयो? मेरो चिन्ता नगर्नुस्, जोगीलाई हिँड्न बाटो चाँहीदैन, बस्नलाई घर आवश्यक छैन, नाममा एक टुक्रा जमिन छैन, एकसरो पहीरनमा खल्ती छैन, मलाई कुनै भय छैन। उनको इच्छाभन्दा बढी श्वास फेर्न पाइदैन, धेरै भए गोली हान्लान् अरु के गर्छन् तिनले ?’ ‘यो लडाइँ स्वाभिमानको हो, श्रीनेपालीजनननीका लागि हो । तपाईं हामी सबैभएर अस्तित्व रक्षाका लागि लाग्नुपर्ने बेला भएको छ। देशव्यापीरुपमा आवाज फैलाउनु छ।’
यस्तै आशीर्वाचनहरु मेरो कानमा परे र म धन्य भएँ। मैले हिँडेको बाटो सही हो भन्ने भाव उहाँको साथ पाएपछि बलियो हुँदै गयो, निरन्तरता बाक्लीदै गयो। सुमार्गी परिवारको सदस्य जस्तो लाग्छ आजभोलि, पहिले स्वामीज्युको म चिन्ता गर्थे अहिले परिवारका अन्य सदस्यहरु गरिरहेका छन्, नेपालभरी स्वामीज्यूको कृतित्व फैलिको छ। संसारभर छरिएर रहेका नेपालीहरुका आस्थाका धरोहरका रुपमा चिनिनुभएको छ। बाग्लुङको बिकटतमा जन्मेर हिन्दूधर्म, संस्कृति र नेपाल आमाको शिर उच्च राख्न हरेक नेपालीहरुको चिन्ता उहाँमा छ। उहाँकोमा दर्शन गर्न जाने सबै नेता, मन्त्री, कर्मचारी, व्यवसायी सबैलाई यही दिशाबाट अघि बढेर देशको बृहत्तर विकासको सत्पात्र बन्न उत्प्रेरणा दिइरहनुभएको छ।
यस्तो सोच भएको नेपाल आमाको सन्तान यो देशमा छ, सबैले सम्मानका साथ उहाँले निर्देश गरेको बाटोमा हिँड्न आवश्यक छ । पहिले पहिले मानव सभ्यतामा राज्य सञ्चालकहरु धेरै जान्ने भएर सिद्धान्तको प्रतिपादन गरे, त्यही सिद्धान्तको पेलानमा आफैं परेपछि नियम अरुका लागि भनेर आफू त्यो भन्दा माथि रहने चेष्टा गर्न थाले, त्यो कूटनीति होइन कि कुनीति सावित भयो र समाज विस्तारै अराजकता तिर गइरहेको छ। धर्मको मात्र कुरा रहेन अब यो, सबै क्षेत्रमा त्यो अराजकता देख्न सकिन्छ। त्यसका सामना र सही दिशाबोधका लागि गुरुको आवश्यकता पर्दछ, परिवारको घेरामा रहेका गुरुहरुलाई छोडेर भन्ने हो भने मेरो गुरु रुदाने हुनुभयो, उहाँले दृश्य मात्र देखाउनु भएन आँखा खोलेर जानुभयो, स्वामी कमलनयनाचार्यले म भित्रको म अहंकार, ईर्ष्या र गलत प्रवृत्तितर्फ नजाओस् भन्ने प्राथनाको बिजक हुनुभयो।
कृपाको वर्णन हुने हो। वर्षाको आनन्द बाथरुमको सावरले दिन सक्दैन, नक्कली चिनियाँ फूलले गमला त सजाउला तर भमरालाई निमन्त्रणा दिन सक्दैन। राष्ट्रगुरु योगी नरहरिनाथले पनि मानेको, देशका लब्ध प्रतिष्ठित व्यक्तिहरुलाई नेपाल जननीको माटो र नक्सा हातमा राखी दिँदै ‘यही माटोले तपाईंलाई यो स्थान दियो, देशलाई माया गर्नु’ भनी आशीवर्चन दिएको, जुनसुकै सहायताका गरिहाल्ने उहाँका कैयौं कामहरु दर्शकदिर्घाको चकटीमा बसेर समाजमा रहदै आएको हुन्छ, किनकि त्यस समाजका निम्ति त्यो संस्कृति खोजमा लाग्नुपर्छ जस्तो मलाई लाग्छ। त्यसो त साधु सन्तहरु कुनै देशका हुँदैनन् यद्यपि बसोबास गरिएको समाज र देशका लागि सन्त नै भए पनि उत्तरदायित्व हुन्छ त्यसैगरी नागरिकको पनि कर्तव्य हुन्छ, सन्तको पहिचान गरी सम्मान गर्नु । स्वामीज्यूको अभिभावकत्वमा म सहजता अनुभव गर्छु, उहाँ धार्मिक यात्राको क्रममा दक्षिण भारतमा हुनुहुन्थ्यो, अकस्मात त्यहाँ देखिएको प्रतिबिम्व र कायाको छायाँले पारेको प्रभाव यहाँसम्म आइपुगेको थियो। तीस मिनेटसमयको मूल्य कति होला? समय संकेतले समेटेको माया, प्रसादका रुपमा कतिपय कृपा र सम्बन्धको कुरा अभिव्यक्तमा अटाउन सक्दैनन् यही सम्बन्ध मेरो र मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यको हो। -पहिलोपोस्ट