झोक्राइरहेको नेपाली सिने बजार अहिले निकै तातेको छ, त्यसको कारण हो भदौ २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा’ । नेपाली चलचित्रले लगानी पनि मश्किलले उठाइरहेको अबस्थामा ‘छक्का पन्जा’ ले एकपछि अर्को रेकर्ड बनाउँदै लगानी मात्र होइन गाडीमा नै राखेर पैसा लग्नु पर्ने अबस्था सृजना गर्यो । हालसम्म यो चलचित्रले ८ करोडको हाराहारीमा विजनेश गरिसकेको वितरक बताउँछन् । भोली शुक्रबारबाट चौथो हप्तामा प्रदर्शन हुन लागिरहेको ‘छक्का पन्जा’ ले सफलता हासिल गरेको उपलक्ष्यमा सुन्धारामा रहेको सिटिसी मलले खुसीयाली साटेको छ । बुधबार चलचित्रका कलाकाहरुलाई विशेष शो राख्दै सिटिसीले रात्री भोजको समेत आयोजना गरेको थियो । दोश्रो सातादेखि ‘छक्का पन्जा’ लगाएको सिटिसीमा तेश्रो सातासम्म पनि दर्शकको चाप उच्च छ भने चलचित्रले उक्त हलमा हालसम्मकै उच्च कलेक्सन गरेको छ ।
छक्का पन्जाको खुसीयाली साटासाट् कार्यक्रममा चलचित्रकी निर्देशक दिपाश्री निरौला, निर्माता तथा अभिनेता दिपकराज गिरी, नायक आर्यन सिग्देल, नायिकाहरु नम्रता सापकोटा र बर्षा राउत तथा कलाकारहरु शिवहरी पौडेल, केदार घिमिरे ‘माग्ने बुढा’, बुद्धि तामाङ ‘हैट’, बसुन्धरा भूषाल, किरण केसी, अरुणा कार्की, वितरक गोपाल कायस्थ लगायत सहभागी थिए । यो चलचित्रमा शिवहरी पौडेल, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, नम्रता सापकोटा, वर्षा राउत लगायत कलाकारहरुको अभिनय रहेको छ ।