जीवन लुइँटेल, सरोज खनाल, गौरी मल्ल, वर्षा शिवाकोटी, जानवी बस्नेत लगायतका कलाकारहरुले अभिनय गरेको चलचित्र ‘सुब्बा साब’ दशैंको फुलपातीको अघिल्लो दिन अर्थात असोज २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । केही दिन अगाडी सार्वजनिक चलचित्रको ट्रेलर र एक गीतले चलचित्रप्रति दर्शकहरुको उत्सुकता बढ्दै गरेको अबस्थामा निर्माणपक्षले प्रचार प्रसारलाई पनि आक्रामक बनाउँदै आएको छ । छविराज ओझाले निर्माण गरेको चलचित्र ‘किस्मत २’ सँग एकसाथ प्रदर्शनमा आउने भएका कारणले पनि चलचित्र ‘सुब्बा साब’ ले आफ्नो प्रचारलाई अहिले कमी हुन दिएको छैन । आशुतोष फिल्मस् प्रोडक्सन प्रालि र शुभ सक्षम म्युजिक प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रमा राजु अधिकारीको निर्देशन छ । निर्देशक अधिकारीले चलचित्रले निजामती कर्मचारी सुब्बाको इमान्दारिता र राष्ट्र सेवा अनि सन्तान प्रतिको माया र दायित्वलाई प्रस्तुत गरेको बताए । हिरामणि न्यौपानेको प्रस्तुतिमा तयार भएको चलचित्रमा रामबहादुर कोइरी, कुलचन्द्र पाण्डे, जीवन अर्याल र रामु अधिकारीको लगानी छ । चलचित्रमा हिरामणि न्यौपानेको कथा र संगीत, शर्मिला न्यौपानेको गीत, कमल राई र गोविन्द्र प्रभातको नृत्य, सञ्जय तुम्रुक, डेबिट, अञ्जु पन्त, मिलन अमात्य र संयोग योगीको स्वर, सुवास देवकोटाको सम्पादन, मौनता श्रेष्ठको पटकथा तथा संवाद र पवन गौतमको छायांकन छ ।