क्षमताभन्दा धेरै यात्रु बोक्न अनुमति नदिएसम्म यातायात व्यवसायीहरूले बस नथप्ने अडान लिएका छन् । व्यवसायीकै अडानकै कारण ६ लाखभन्दा धेरै सर्वसाधारणले अझै टिकट पाउन सकेका छैनन् । यातायात व्यवस्था विभागले शुक्रबार बस थप्ने विषयमा व्यवसायीसँग छलफल गरेको थियो । तर, उनीहरूले पुरानै माग दोहो-याएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । कि सिट क्षमताभन्दा धेरै यात्रु बोक्न पाउनुपर्ने नत्र एकतर्फी सडकको भाडा दिनुपर्ने माग उनीहरूले राखेका छन् । यस वर्ष दसैँ सुरु भइसक्दा सार्वजनिक यातायातबाट घर जाने झन्डै ३० प्रतिशत यात्रुले अझै टिकट पाएका छैनन् । दसैँको मुखमा व्यवसायीले दादागिरी देखाउँदा पनि सरकार निरीह बनेको छ ।
दसैँमा घर जान टिकट बुकिङ खुलाएका व्यवसायीले मनपरी गर्न नपाउने सरकारको निर्णयपछि बुकिङ बीचैमा बन्द गरे, यसकारण करिब आठ लाख यात्रुले अझैँ घर जान टिकट पाएका छैनन्
सिटअनुसार गाडी चलाउँदा घाटा हुने भन्दै व्यवसायीले सिट क्षमताभन्दा धेरै यात्रु बोक्न पाउनुपर्ने नत्र एकतर्फी भाडा सरकारले दिनुपर्ने माग गरेका छन्
सबैतिर रुट परमिट नदिए बस थपेर यात्रु ओसार्न नसक्ने पनि यातायात व्यवसायीको भनाइ
सरकारले हटाएको बताए पनि सबै जिल्लामा यातायात क्षेत्रमा सिन्डिकेट कायमै छ
सिटअनुसार गाडी चलाउँदा घाटा हुने दाबी
व्यवसायीहरूले सिट क्षमताअनुसार मात्र गाडी चलाउँदा घाटा हुने भन्दै बस थप्न नमान्दा समस्या भएको हो । दसैँका वेला भएकाले नाफामा मात्र केन्द्रित नभई सेवामा पनि ध्यान दिन विभागका अधिकारीहरूले आग्रह गरेका थिए । तर, उनीहरू आफ्नो अडानबाट पछि हटेका छैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने धेरै रुटमा बस थपिएको तथा सडकको अवस्था राम्रो नभएकाले बस थप्न नसकिएको दाबी गर्छन् । सडकको कारण देखाएर व्यवसायीले क्षमताभन्दा धेरै यात्रु बोक्दा कारबाही गर्न नहुने माग रोखेको विभागका अधिकारीहरूको भनाइ छ ।
आजदेखि भिआइपी बस
बार र शौचालयसहितको बस आजदेखि सञ्चालनमा
भित्रै खाना र खाजादेखि शौचालयसम्मको सुविधा भएको बस आजदेखि काठमाडौं–पोखरा रुटमा सञ्चालन हुने भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले दुईवटा बस आजदेखि सञ्चालन गर्न लागेको हो । कफी बनाउने मेसिनसमेत भएकाले आवश्यकताअनुसार यात्रुले गाडीभित्रै कफी पिउन सक्छन् । खाना खाने टेबलसमेत बसभित्रै रहेको लगानीकर्ता पोखराका केशव अधिकारीले बताए । खाना र खाजासहित बसभाडा काठमाडौंको एक हजार पाँच सय रुपैयाँ तय गरिएको उनले जानकारी दिए । बसमा बच्चाहरूलाई खेल्ने ठाउँसमेत बनाइएको छ । एउटा बसमा एक करोड लगानी भएको अधिकारीले बताए । उनले यस्ता ६ वटा बस चलाउने तयारी गरेका छन् । आइतबार बिहान बस सेवाको उद्घाटन गर्न लागिएको छ ।
सिन्डिकेटको सास्ती कायमै
नुवाकोट र रसुवामा एक महिनादेखि केरुङ यातायातले सेवा दिन थालेपछि पासाङ ल्हामु यातायातको कमाइ घट्यो । त्यसपछि व्यवसायीहरूले शुक्रबार नुवाकोट र रसुवामा यातायात ठप्प पारे । केरुङ यातायातलाई जथाभावी रुट परमिट दिएको भन्दै उनीहरूले यातायात ठप्प पारेका हुन् । तर, प्रशासनले कारबाही नगरी दुई पक्षलाई छलफल गराएर सम्झौता गरायो । सरकारले कतै पनि सिन्डिकेट नरहेको बताए पनि सबै जिल्लामा यातायात क्षेत्रमा सिन्डिकेट कायमै छ । ठूला पार्टीका पहुँचवाला नेताहरूको लगानीमा बस यातायात सञ्चालन भएकाले सिन्डिकेट तोड्न प्रशासन असफल बनेको हो । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थी कतै पनि सिन्डिकेट नरहेको बताउँछन् ।
उपत्यकाबाट बाहिरिने बढे
दसैँ सुरु भएसँगै उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढ्न थालेको छ । नागढुंगा नाकाबाट नियमितभन्दा १० हजार बढी यात्रु बाहिरिन थालेको ट्राफिक प्रहरीले जनाएको छ । ‘सामान्य अवस्थामा २५–२६ हजार यात्रु बाहिरिन्थे,’ महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाका सइ गुणनिधि खकुरेलले भने, ‘शुक्रबारदेखि बढेको छ, शनिबार करिब ३५ हजार बाहिरिएका छन् । दक्षिणकाली, जगाती तथा बालाजु हुँदै बाहिरिनेको संख्या पनि बढ्न थालेको छ ।
सरकारी र स्कुल–कलेजका बस चलाउने तयारी
यातायात व्यवसायीले अनेक माग राखेर मनपरी गर्न खोजेपछि सरकारले वैकल्पिक व्यवस्था गर्न लागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दसैँको यातायात समस्या समाधान गर्न सरकारी गाडी लामो दूरीमा यात्रु बोक्न सञ्चालन गर्ने तयारी थालेको छ । यही विषयमा छलफल गर्न मुख्यसचिव डा. सोमलाल सुवेदीले आइतबार बिहान सचिवहरूको बैठक बोलाएका छन् । सबै सरकारी बसको विवरण संकलन गरी सञ्चालनको योजना बनाउन लागिएको हो । प्रहरी तथा सेनाको बसलाई समेत दसैँमा यात्रु बोक्न सञ्चालन गर्ने योजना पनि सरकारको छ ।
यातायात व्यवस्था विभागले दसैँमा घर जाने यात्रु ओसार्न स्कुल तथा कलेजका बस प्रयोग गर्ने तयारी गरेको छ । विभागले प्याब्सन, एनप्याब्सन तथा प्लस टु कलेज सञ्चालकको संस्था हिसानका अधिकारीहरूलाई आइतबार छलफल गर्न बोलाएको छ । ‘राजधानीका स्कुल–कलेजका पनि तीन–चार सय बस छन्,’ विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ भन्छन्, ‘व्यवसायीले बस नथपे स्कुल–कलेजको बसमार्फत धेरै यात्रु घर जान सक्नेछन् ।’
अप्ठ्यारोमा सरकारी बस चलाउँछौँ
डा. सोमलाल सुवेदी, मुख्यसचिव
गत वर्ष पनि तिहारमा हामीले उपत्यकामा सरकारी बस यात्रु बोक्न सञ्चालन गरेका थियौँ । यस वर्ष पनि धेरै चाप हुने रुटमा सरकारी बसमा यात्रु बोक्न सकिन्छ, हामीले छलफल अघि बढाइसकेका छौँ ।
सरकारी र स्कुल–कलेजका बस चलाउने तयारी
यातायात व्यवसायीले अनेक माग राखेर मनपरी गर्न खोजेपछि सरकारले वैकल्पिक व्यवस्था गर्न लागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दसैँको यातायात समस्या समाधान गर्न सरकारी गाडी लामो दूरीमा यात्रु बोक्न सञ्चालन गर्ने तयारी थालेको छ । यही विषयमा छलफल गर्न मुख्यसचिव डा. सोमलाल सुवेदीले आइतबार बिहान सचिवहरूको बैठक बोलाएका छन् । सबै सरकारी बसको विवरण संकलन गरी सञ्चालनको योजना बनाउन लागिएको हो । प्रहरी तथा सेनाको बसलाई समेत दसैँमा यात्रु बोक्न सञ्चालन गर्ने योजना पनि सरकारको छ ।
यातायात व्यवस्था विभागले दसैँमा घर जाने यात्रु ओसार्न स्कुल तथा कलेजका बस प्रयोग गर्ने तयारी गरेको छ । विभागले प्याब्सन, एनप्याब्सन तथा प्लस टु कलेज सञ्चालकको संस्था हिसानका अधिकारीहरूलाई आइतबार छलफल गर्न बोलाएको छ । ‘राजधानीका स्कुल–कलेजका पनि तीन–चार सय बस छन्,’ विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ भन्छन्, ‘व्यवसायीले बस नथपे स्कुल–कलेजको बसमार्फत धेरै यात्रु घर जान सक्नेछन् ।’
व्यवसायीले नमाने वैकल्पिक व्यवस्था
चन्द्रमान श्रेष्ठ, महानिर्देशक,
यातायात व्यवस्था विभाग
टिकटको समस्या समाधान गर्न के गर्दै हुनुहुन्छ ?
व्यवसायीहरूसँग छलफल भइरहेको छ । तर, उहाँहरूले हाम्रो आग्रह नमानेपछि स्कुल–कलेजका बसहरू चलाएर भए पनि सेवा दिनेबारे छलफल अघि बढाएका छौँ । सबै यात्रुलाई सहज रूपमा घर जान पाउने वातावरण बनाउन हामी लागिरहेका छौँ ।
दसैँका वेला नाजायज माग राख्दा कारबाही गर्न सक्नुहुन्न ?
अहिलेको अवस्थामा कारबाही गरेर मात्र पनि समस्या समाधान हुँदैन । मुख्य कुरा, अहिलेको समस्या हल गर्नु हो । त्यसतर्फ पहल भइरहेकै छ ।
सरकारले सबैतिर रुट परमिट दिनुपर्छ
सरोज सिटौला, महासचिव
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ
दसैँका वेला जनतालाई सेवा दिनुपर्नेमा किन समस्या सिर्जना गर्नुभएको ?
अहिले जुन हल्ला भइरहेको छ, अवस्था त्यस्तो छैन । टिकटको समस्या छ, तर धेरै ठूलो समस्या होइन । यात्रुहरू भटाभट गइरहनुभएको छ । हामीले सबैतिर बस थपेका छौँ । काठमाडौं–धनगढीमा मात्र ११ वटा बस थपिएको छ ।
समस्या के हो त ?
समस्या सडकमा हो । हामीले मुग्लिन–नारायणगढ सडकको निर्माण दसैँमा स्थगन गरौँ, सहज हुन्छ भनेका थियौँ । त्यसमा सहमति पनि भयो । तर, कार्यान्वयन भएको छैन । कलंकी–नागढुंगा सडकमा खाल्डैखाल्डा छ । सरकारले बनाएन । रुट परमिट सबैतिर दिइएको छैन । त्यही कारण धेरै बस सञ्चालन गर्न नसकिएको हो । काठमाडौंबाट एक–दुईवटा मात्र बस चल्ने जिल्लामा केही समस्या छ । सबै यात्रुलाई एकैदिनको टिकट चाहिने हुन्छ । त्यसकारण धेरैले टिकट नपाएको हल्ला चलेको हो। -नवराज मैनाली/नयाँ पत्रिका