प्रणय लिम्वु निर्देशित चलचित्र ‘द स्पोन्सर’को एक्रेलिक पेन्टिङ पोस्टर आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । चलचित्रको पेन्टिङ पोस्टर चित्रकार साजिद शाक्यले सार्वजनिक गरेका थिए । आरबिए फिल्म्सको व्यानरमा निर्माण भएकोे ‘द स्पोन्सर’ रुद्रवहादुर गुरुङले निर्माण गरेका हुन् । तीन घण्टा लामो चलचित्र पूर्वी नेपालको सप्तकोसी किनारमा बस्ने एक टुहुरी बालिका कौशिकाको वरीपरी घुमेको छ । माछा मारेर जीविका धान्ने पारिवारिक पृष्ठभूमिकी कौसिका कसरी अमेरिका पुग्छिन्, के उनको दुखका दिनहरु अन्त्य हुन्छ ? लगायतका कुराहरुलाई मनछुने तरिकाले पर्दामा उतारेको निर्देशक प्रणय लिम्वुले बताए । चलचित्रमा प्रविण खतिवडा, ग्रीष्मा नेपाल, कामेश्वर चौरासिया, एलिना श्रेष्ठ, रेखा कर्ण, रमेश्रञ्जन झा, रामभजन कामत, सुरेश नेपाल लगायतकोे अभिनय छ । ‘द स्पोन्सर’ को प्रिमियर आगमी मंसीर दोस्रो साता हङकङस्थित युन लङ थिएटरमा हुने पनि कार्यक्रममा बताइएको थियो ।