चलचित्र ‘नाई नभन्नु ल २’ बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी नायिका हुन्, बर्षा सिवाकोटी । चलचित्र भन्दा धेरै म्यूजिक भिडियोमा देखिएकी उनी अब भने ठूलो पर्दामा नै जम्ने बताउँछिन् । ‘नाइँ नभन्नू ल २’ पछि उनले ‘पशुपति प्रसाद’ लगायतका चलचित्रमा काम गरिसकेकी छिन् । केही दिन अगाडी मात्र नयाँ चलचित्र ‘लप्पन छप्पन’ को छायाँकन सकाएकी बर्षाको नयाँ चलचित्र ‘सुब्बा साब’ यही असोज २१ गते प्रदर्शनमा आउँदैछ । पछिल्लो समय निर्माताहरुको नजरमा राम्रै पर्न थालेकी बर्षा सिवाकोटीलाई मन पर्ने नायिका भने नम्रता श्रेष्ठ हुन् । एक अन्तर्वार्ताको क्रममा उनले आफु नम्रता श्रेष्ठको अभिनयबाट पनि यस क्षेत्रमा लाग्न प्रेरण मिलेको बताइन । उनले भनिन्, ‘मलाई नम्रता श्रेष्ठमा नायिकामा हुनु पर्ने सबै गुण छ जस्तो लाग्छ । मलाई मन पर्ने अभिनेता चाहिँ खगेन्द्र लामिछाने हुनुहुन्छ । उहाँको अभिनय निकै राम्रो लाग्छ ।’ उनले अन्तर्वार्ताको क्रममा मन पर्ने निर्देशक भने दीपेन्द्र के. खनाल रहेको बताइन ।
उनले अगाडी भनिन्, ‘एकपटक निर्देशक रामबाबु गुरुङसँग काम गर्ने मन छ । त्यस्तै चलचित्रमा दयाहाङ राई, सौगात मल्लसँग स्क्रिन शेयर गर्न मन लागेको छ । उनलाई फन्नी फेस चाहिँ पत्रकार ऋषि धमला लाग्छ रे ! ऋषि धमलाको प्रश्न सोध्ने स्टाइल आफ्नो लागी सबैभन्दा फन्नी लाग्ने उनले बताइन । त्यस्तै उनले जोकरको भुमिका आर्यन सिग्देललाई सुहाउने बताउँदै मनोरोगीको भुमिका अनमोल केसीलाई सुहाउने पनि बताइन । ‘प्रदीप खड्का, अनमोल केसी र आकाश श्रेष्ठले तपाईलाई एक्कै चोटी प्रपोज गरे भने कसको प्रपोजल स्वीकार गर्नुहुन्छ’ ? भन्ने सोध्नमा बर्षाले भनिन्, ‘प्रदीप खड्का । प्रदीप मिल्ने साथी भएका कारण उनको प्रपोजल स्वीकार गर्छु किनकी उसलाई पछि होइन त्यो त गफ मात्र थियो भन्न सजिलो हुन्छ ।’