नेपाली निर्माताहरु पछिल्लो समय आफ्नो चलचित्रमा पुराना कलाकार भन्दा नयाँ अनुहारहरु खोजीरहेका हुन्छन् । त्यसैले पनि हो केही बर्षदेखी नेपाली चलचित्रमा नयाँ अनुहारहरु भित्रिरहेका छन् । दिन प्रतिदिन चलचित्र निर्माण हुने क्रम बढ्दो छ । यद्दपी नयाँ कलाकार छनौटका लागि भने सिलो खोज्न पर्ने अबस्था छ । पुराना केहि अभिनेता र अभिनेत्रीहरुको पनि क्रेज घटेका कारण निर्माता जोखिम मोल्न चाहदैनन्, त्यसैले यूवापुस्ताको नजरमा पर्ने नयाँ अनुहारहरु निर्माताहरुले खोजीरहेका हुन्छन् । तर निर्माताहरुले खोजे अनुसारको नयाँ अनुहार खासै नभेटेको खबरहरु पनि बेला बखतमा खुबै आउने गर्छ ।
अहिले अभिनय र लुक्समा दम भएकाहरुलाई सहज रुपमा निर्माताले लगानी गर्ने गरेका छन् । सानो क्षेत्रमा सबैभन्दा बढी कलाकार नै छन् । पुराना अभिनेता तथा अभिनेत्रीहरु दिनप्रति दिन सपनाको शहर अमेरिकाको मोहमा पयालन हुदै गर्दा नेपाली चलचित्रमा स्टारपावर भएका नायक नायिकाको अभाव हुन सक्ने देखिन्छ । त्यसैले होला अहिले प्रदर्शनमा आएका अधिकांश चलचित्रहरुमा नयाँ अनुहारलाई देख्न सकिन्छ र दर्शकहरुले ति कलाकारहरुलाई रुचाउँदै पनि आएका छन् ।
निर्माताहरुले नयाँ अनुहार खोज्ने क्रममा यूवापुस्ताका नायक अनमोल केसी पनि नेपाली चलचित्रमा भित्रिएका हुन् । उनको पहिलो चलचित्र होस्टेल सफल भएपछि उनले जेरी, ड्रिम्स र गाजलुमा काम गरे । उनका यि ४ वटै चलचित्र सफल भएपछि अनमोलले अहिले आफ्नो छुट्टै क्रेज बनाइसकेका छन् । त्यस्तै अनमोल जस्तै नेपाली चलचित्रमा अहिले केही आश लाग्दा नयाँ कलाकारहरु नेपाली चलचित्रमा भित्रिसकेका छन् ।
त्यस मध्ये केही पहिलो चलचित्रबाट नै स्थापित हुने संकेत देखिएको छ । केही बर्ष अगाडी देखी अहिले सम्म आएका नयाँ अनुहारलाई नियाल्दै गर्दा यि १२ नयाँ अनुहारबाट नेपाली चलचित्रले आश गर्न सक्छ ।
प्रदीप खड्का : नायक प्रदिप खड्काले गएको बर्ष सुपरहिट फिल्म प्रेमगीतमा अभिनय गरेका थिए । हुनत उनको यो पहिलो फिल्म थिइन तर उनलाई प्रेमगीतले सफल नायक बनायो । उनले यो फिल्मभन्दा अगाडी ईस्केप बाट चलचित्रमा डेव्यू गरेका थिए तर यो चलचित्र पूर्णतया असफल रह्यो । प्रदीप खड्कालाई चलचित्र ‘प्रेम गीत’ भन्दा पहिले सायदैले चिन्थे तर,अहिले आम युबायुबतीले चिन्छन् कारण ‘प्रेम गीत’मा उनले गरेको काम । उनले ‘प्रेम गीत’मा पाएको सफलताका कारण अहिले चर्चित डेब्यु नायकमा उनको नाम अगाडी छ ।
सृष्टी श्रेष्ठ : पूर्व मिस नेपाल समेत रहेकी सृष्टी श्रेष्ठको पहिलो डेव्यू नेपाली चलचित्र हो गाजलु । चलचित्र गाजलुमा उनको भुमिकालाई दर्शकहरुले निकै रुचाएपछि अहिले उनलाई सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएको छ । उनले एक भारतीय म्यूजिक भिडियोमा समेत काम गरेकी छिन् । यस बर्ष प्रदर्शनमा आएको चलचित्र गाजलुबाट उनले अर्को बर्ष डेव्यू नायिकाको अवार्ड पाउने लगभग पक्का छ ।
साम्राज्ञी राज्य लक्ष्मी शाह : भुवन केसीले पहिलो पटक निर्देशन गरेको र अनमोल केसीले अभिनय गरेको चलचित्र ड्रिम्सबाट नेपाली चलचित्रक्षेत्रमा भित्रिएकी साम्राज्ञी राज्य लक्ष्मी शाह अहिलेकी व्यस्त नायिका बनिसकेकी छिन् । चलचित्र ड्रिम्सले सफलता पाएपछि उनलाई दर्जनौ नेपाली चलचित्रबाट निर्माताहरुले अफर गरे तर उनी उत्कृष्ट कथावस्तु खोज्ने क्रममा अहिले उनी झरना थापाले निर्देशन गर्दै गरेको चलचित्र ए मेरो हजुरमा व्यस्त छिन् । उनको बोल्ने बोल्ड शैली र अभिनयले उनलाई रजतपटमा स्थापित गराउन सक्ने देखिएको छ । उनले अहिलेसम्म दुई अवार्ड समेत हात पारिसकेकी छिन् । चलचित्र ड्रिम्सबाट उनले फान अवार्ड र डि सिने अवार्डबाट नव नायिकाका अवार्ड हात पारेकी छिन् ।
आना शर्मा : आना शर्मा पनि नव नायिकाको भिडमा एक सम्भावना बोकेकी नायिका हुन् । अनमोल केसी अभिनित चलचित्र जेरीबाट डेव्यू गरेकी आना अब चाँडै ‘ग्याङस्टार ब्लूज’ मा काम गर्दैछिन् । चलचित्र जेरी सफल भएपछि उनलाई पनि धेरै चलचित्रबाट अफर आए तर उनका अनुसार त्यस मध्ये छानेर मात्र चलचित्र ‘ग्याङस्टार ब्लूज’ मा काम गर्न लागेको बताएकी छिन् ।
आयुष्मान देशराज श्रेष्ठ : आयुष्मान देशराज श्रेष्ठले अभिनय गरेको चलचित्र चपली हाईट २ यही भदौ २ बाट प्रदर्शनमा आएको थियो । चलचित्रले औसत व्यापार गरेपनि उनको तारिफ भने राम्रै भयो । पर्दामा उनलाई देखेपछि चिच्याउने यूवतीहरुको क्रेजले आयुष्मानको पनि नेपाली चलचित्रमा उज्वल भविष्य रहेको अनुमान लगाउन सकिन्छ ।
आर्यन अधिकारी : नायक आर्यन अधिकारीले यस बर्ष प्रदर्शनमा आएको चलचित्र के म तिम्रो होइन र बाट डेव्यू गरेका थिए । चलचित्रले औसत व्यापार गरेपनि उनको अभिनयलाई भने सबैले तारिफ गरेका थिए । हाल अमेरिकामा उनी यो चलचित्रको प्रदर्शन गर्न व्यस्त छन् । उनी के म तिम्रो होइन र मा धमाकेदार एक्शन अवतारमा प्रस्तुत भएका थिए, जसले गर्दा पनि केही हदसम्म दर्शकहरु हलसम्म पुगेका थिए । आर्कषक शरीरका धनी आर्यनलाई यो चलचित्रमा काम गरेपछि अन्य चलचित्रबाट पनि अफर आए तर उनी उत्कृष्ट कथावस्तु हेरेर मात्र काम गर्ने सुरमा छन् ।
पल शाह : सयौं म्यूजिक भिडियोमा काम गरेर पहिलो पटक नाइँ नभन्नू ल ४ चलचित्रबाट डेव्यू गरेका पल शाहबाट पनि नेपाली चलचित्रले आश गर्न सक्छ । नाइँ नभन्नू ल ४ सफल भएपछि उनलाई रुचाउने दर्शकहरुको संख्या ह्वात्तै बढेको छ । हाल चलचित्र जोनी जेन्टलम्यानको वर्कसपमा व्यस्त पल शाह पनि नेपाली चलचित्रमा आफुलाई स्थापित गराउने तयारीमा रहेका छन् । चकलेटी अनुहारका पलका यूवती फ्यानहरु असंख्य छन् । पलले डि सिने अवार्ड र फान अवार्डबाट उत्कृष्ट नव नायकको अवार्ड पनि हात पारिसकेका छन् ।
आमेश भण्डारी : दिनेश डिसी निर्देशित चलचित्र फूलै फूलको मौसम तिमीबाट डेव्यू गरेका आमेश भण्डारी पनि अहिले दर्शकहरुको नजरमा राम्रै परेका छन् । उक्त चलचित्रमा उनको अभिनयलाई दर्शकहरुले निकै रुचाएका थिए । नीता ढुंगानासँग फूलै फूलको मौसम तिमीलाईमा स्क्रिन शेयर गरेका आमेश पनि नेपाली चलचित्रका सम्भावना बोकेका नायक हुन् ।
प्रदिप बास्तोला : चलचित्र अर्धकट्टीबाट नेपाली चलचित्रमा डेव्यू गरेका प्रदिप बास्तोला पनि आफ्नो अभिनयलाई न्यायपूर्वक निभाउने कलाकार हुन् । अर्धकट्टीमा कमेडी शैलीमा प्रस्तुत भएका प्रदीप बास्तोला एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा समेत उत्कृष्ट नव अभिनेताको नोमिनेशनमा परेका छन् ।
बर्षा राउत : अभिनेत्री बर्षा राउत पनि चलचित्र नाइँ नभन्नू ल ४ बाट दर्शकहरुको नजरमा खुबै परिन् । म्यूजिक भिडियोमा बढी जसो देखिने बर्षालाई नाइँ नभन्नू ल ४ ले थप उचाईमा पुराएको हो । अहिले उनी भदौ २४ गते प्रदर्शनमा आउन लागेको चलचित्र छक्का पन्जाको प्रमोशनमा व्यस्त छिन् । उनको यो चलचित्रमा मुख्य भुमिका रहेको छ । त्यस्तै उनले अभिनय गरेको नयाँ चलचित्र जात्रा पनि कार्तिक १९ गतेबाट प्रदर्शनमा आउँदैछ । आफ्नो अभिनयलाई नर्खार्दै गरेकी बर्षाबाट पनि नेपाली चलचित्रले आश गर्न सक्छ ।
नाजिर हुसेन : चरित्र अभिनेता नाजिर हुसेन पनि नेपाली चलचित्रका एक सम्भावना बोकेका कलाकार हुन् । चलचित्र होस्टेल रिर्टन्सबाट नेपाली चलचित्रमा डेव्यू गरेका नाजिरले त्यसपछि वीर विक्रम लगाएतका चलचित्रमा काम गरेका छन् । उनको नयाँ चलचित्र गाँठो यही भदौ ३१ बट देशव्यापी प्रदर्शनमा आउँदैछ । कमेडी शैली र मधेशी पात्रको भुमिकामा विशेष देखिदै आएका नाजिरको अभिनयले अहिले धेरैलाई आर्कषित बनाउँदै आएको छ ।
प्रज्वल सुरज गिरी : यस अघि प्रदर्शनमा आएको चलचित्र मालामा उत्कृष्ट अभिनय कला प्रस्तुत गरेका अर्का नायक प्रज्वल सुजल गिरी पनि चलचित्रमा संघर्षरत छन् । मालामा राम्रो काम गरे तर,ब्यापारिक रुपमा असफल भएपछि उनको कामको तारिफ गर्नुको बिकल्प रहेन । त्यस्तै यस बर्ष प्रदर्शनमा आएको चलचित्र के म तिम्रो होइन र मा खलनायकको भुमिका निर्वाह गरेका प्रज्वललाई पनि नेपाली चलचित्रका सम्भावना बोकेका नायकको रुपमा हेरिएको छ । अग्ला र आकर्षक शरिर र अभियनमा समेत दक्ष रहेका कारण यिनले पनि राम्रो ब्यानर र निर्देशक पाए भने राम्रै काम गर्ने आश गर्न सकिन्छ ।